ट्रेन्डिङ

Logout

साउन महिनामा फेरि घट्यो बैंकको ब्याजदर, राष्ट्र बैंकको मौद्रिक नीतिको प्रभाव

5k Shares

जेठ र असार महिनामा स्थिरजस्तै देखिएको बैंकको ब्याजदर साउन महिनामा फेरि घटेको छ। नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिपछि अधिकांश बैंकहरूले ब्याजदर घटाउँदै साउन महिनाका लागि नयाँ दर सार्वजनिक गरेका हुन्।

गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत बनायो। यस्तै, स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट घटाएर २.७५ प्रतिशत कायम गर्‍यो। यसले बैंकहरूलाई ब्याजदर घटाउन थप दबाब सिर्जना गर्‍यो।

बैंकहरूका अनुसार असार महिना पूँजीगत खर्च अत्यधिक हुने समय भएकाले पनि ब्याजदर घट्ने संकेत देखिएको हो। सरकारी खर्च अत्यधिक हुने असारमा मात्र कुल पूँजीगत खर्चको ३२ प्रतिशत उपयोग भएको देखिएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार, “बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा राख्ने निक्षेपमा पाइने ब्याज घटेसँगै ब्याज आम्दानीमा कमी आउने भएपछि निक्षेपको ब्याजदर पनि घटेको हो।”

बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार, असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ। असारमा ५.९०२ प्रतिशत रहेको दर साउनमा घटेर ५.६८७ प्रतिशतमा झरेको छ।

१४ वटा बैंकले साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ वटा बैंकले स्थिर राखेका छन्। दुई बैंकहरूले भने यो दर थोरै बढाएका छन्। हिमालयन बैंकले ०.५ प्रतिशत विन्दुले र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले ब्याजदर बढाएका हुन्।

सामान्यतया, बैंकहरूले छोटो अवधिको मुद्दतीमा कम र लामो अवधिको निक्षेपमा बढी ब्याजदर दिने गरेका छन्। अधिकतम ब्याजदर प्रायः लामो अवधिका लागि लागू हुन्छ।

तरलता नघट्दा अहिले पनि नेपाल राष्ट्र बैंकमा करिब ७ खर्ब रुपैयाँ थन्किएको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्म केन्द्रीय बैंकले ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी तरलता खिचेको छ, जसमा ३ खर्ब ७७ अर्ब निक्षेप संकलन उपकरण र बाँकी ३ खर्ब १५ अर्ब स्थायी निक्षेप सुविधाबाट खिचिएको हो।

यस आर्थिक वर्षमा अर्थतन्त्रका सूचकहरूमा केही सुधार देखिए पनि आर्थिक गतिविधि सुस्त रहेकाले वित्तीय प्रणालीमा अझै पनि अधिक तरलताको अवस्था छ। मंगलबारसम्म खिचिएको तरलता अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर रहेको केन्द्रीय बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार