ट्रेन्डिङ

Logout

सिन्धुपाल्चोकको अरनिको राजमार्गमा पहिरोले यातायात अवरुद्ध

5.2k Shares

सिन्धुपाल्चोकको भोटेकोशी २, इकुमा बिहीबार बिहान ५ बजे खसेको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीका अनुसार, सडकमाथिबाट पहिरो खसेर र तलबाट सडक भासिएकाले यातायात पूर्ण रूपमा ठप्प भएको हो।

“माथिबाट पहिरो आएको छ, तलबाट सडक भासिएको छ। माटो थेग्ने वाल नबनाई सडक खुलाउन कठिनाइ छ,” प्रहरी प्रमुख कार्कीले भने। उनले सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको बताए।

राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाकाबाट राजधानीतर्फ जाँदै गरेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन्। यस्तै, यात्रुबाहक बस, साना–ठूला सवारी साधन र एम्बुलेन्सहरू पनि रोकिएका छन्।

यसअघि बुधबार, केरुङ नाकामा बाढीले संरचना भत्किएपछि त्यहाँ रोकिएका १२६ पर्यटकलाई कोदारी नाकाबाट नेपाल भित्र्याइएको थियो। प्रहरी प्रमुख कार्कीका अनुसार, तीमध्ये ७२ जनालाई हेलिकप्टर र ५४ जनालाई बसमार्फत काठमाडौंतर्फ पठाइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार