ट्रेन्डिङ

Logout

१९ जना बेपत्ताको खोजी जारी, ठूलो क्षतिपछि अनुसन्धान

5.3k Shares

नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य बुधबार बिहानैदेखि तीव्र बनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले राससलाई दिएको जानकारीअनुसार रसुवाबाट बाढीले बगाएका एक व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली र नारायणी नदी किनारसहित रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासीका नदी किनारमा खोजी कार्य जारी छ। प्रहरी टोलीहरू ती क्षेत्रमा परिचालित छन्।

प्रवक्ता थापाका अनुसार बाढीमा बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव मङ्गलबार साँझ चितवनमा फेला परेको थियो। बाढीले बगाएर शवहरू तलसम्म पुगेको आशङ्कामा खोजी कार्य तीव्र पारिएको छ। हालसम्म बाढीमा परी मृत्यु भएका नौ जनामध्ये पाँच जनाको मात्र शव सनाखत गर्न सकिने अवस्थामा छ। चार शवका अङ्ग मात्र फेला परेकाले डिएनए परीक्षण आवश्यक रहेको थापाले बताउनुभयो।

हाल दुई प्रहरी, छ चिनियाँ नागरिक र ११ सर्वसाधारण बेपत्ता छन्। बाढीले ६४ सवारीसाधन र मितेरी पुल बगाएको छ भने ठूलो भौतिक क्षति भएको छ। यकिन कारण नखुले पनि मौसमविद्हरूले माथिल्लो क्षेत्रमा हिमपोखरी फुटेको हुन सक्ने अनुमान गरेका छन्।

मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले ठूलो वर्षा नभई बाढी आएकाले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार