ट्रेन्डिङ

Logout

नेपालले भुटानलाई २९८ रनले हराउँदै यु–१६ क्रिकेटको सेमिफाइनलमा मलेसियासँग भेट पक्का

7.5k Shares

मलेसियामा जारी एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनलमा मलेसियासँगको भेट पक्का गरेको छ। मलेसिया समूह ‘बी’ को उपविजेता हो।

मंगलबार सेलाङ्गोर टर्फ क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले रौनक श्रीवास्तवको शतकीय पारीको सहयोगमा ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो। श्रीवास्तवले १३२ बलमा ५ छक्का र १६ चौकासहित १६८ रन जोडे। जोय थापाले अविजित ६१, शिवान्स बजगाईँले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाए। भुटानका सञ्जय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए।

जवाफी ब्याटिङमा भुटान ३२.४ ओभरमा ६० रनमै अलआउट भयो। सुजन दावा (१४) र उयोग छोफेल (१०) बाहेक भुटानका ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चेर ४ विकेट लिए भने सचिन भट्ट र सुयोग भट्टराईले २-२ विकेट हात पारे।

नेपालले समूह चरणका चारवटै खेल जितेर समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्दै सेमिफाइनलमा स्थान बनायो। सिङ्गापुर दोस्रो भएर सेमिफाइनल पुग्यो। समूह ‘बी’ बाट हङकङ शीर्ष र मलेसिया दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरे।

नेपालले बिहीबार सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। सन् २०२३ मा मलेसियालाई फाइनलमा हराउँदै उपाधि जितेको नेपाल हाल डिफेन्डिङ च्याम्पियन हो।

प्रतियोगितामा नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भुटान, जापान, हङकङ, माल्दिभ्स, थाइल्याण्ड, म्यानमार र आयोजक मलेसियासहित १० टिम सहभागी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार