ट्रेन्डिङ

Logout

धनगढीमा अविरल वर्षाले डुबान: आठ जनाको उद्धार, हजार घर प्रभावित

7.6k Shares

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लगातारको वर्षापछि डुबानमा परेका आठ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

धनगढी उपमहानगरपालिका–७ स्थित बेली गाउँका चार जना र वडा नम्बर १३ को श्रीलंकाका चार जना गरी आठ जनालाई डुबानमा फसेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बेली गाउँका सिताराम रानाको कच्ची एक तले घर डुबानमा परेपछि उनीसहित परिवारका चार सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो। उनीहरूलाई नजिकैका आफन्तको घरमा राखिएको छ।

यस्तै, धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनालाई उद्धार गरी स्थानीय नवज्योति आधारभूत विद्यालयमा आश्रय दिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका करिब एक हजार घरमा पानी पसेको छ। प्रशासकीय अधिकृत शिवराज जोशीले उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र १० विशेष प्रभावित रहेको जानकारी दिए।

हालसम्म जनधनको ठूलो क्षति नभएको जनाइएको छ। तर, आइतबार साँझदेखि लगातार भइरहेको वर्षा यदि साँझसम्म निरन्तर रह्यो भने थप मानिस प्रभावित हुने सम्भावना रहेको र सोही अनुसार उद्धार तथा राहत तयारी भइरहेको जोशीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार