क्यान्सरको उपचार हुने भन्दै दिल्लीमा अवैध रूपमा बिक्री भइरहेको नक्कली औषधिको प्रकरणमा भारतको क्राइम ब्राञ्चले नेपाल कनेक्सन पत्ता लगाएको छ।
भारतको ‘द इण्डियन एक्सप्रेस’ अनुसार, अनुसन्धानका क्रममा प्रहरीले ती नक्कली औषधिहरू ठूलो मात्रामा काठमाडौं हुँदै भारत भित्रिएको प्रमाण फेला पारेको छ। भारतमा ती औषधि पठाउने केही व्यक्तिको पहिचान भइसकेको भन्दै भारतीय प्रहरीले उनीहरूको खोजी तीव्र पारेको जनाएको छ।तर, नेपाल प्रहरीले भने यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएको छ। अन्तरदेशीय अपराध अनुसन्धानमा संलग्न विशेष ब्यूरोका एक उच्च अधिकारीले “हामीसँग कुनै समन्वय भएको छैन,” भनेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि यो विषयमा अनभिज्ञता जनाएको छ।यो महिनाको सुरुवातमा दिल्ली प्रहरीले अवैध रूपमा क्यान्सरको औषधि बेच्ने गिरोह पक्राउ गरेको थियो। ती औषधिहरू सरकारी निकायमा दर्ता नभएका र प्रयोगमा अयोग्य रहेका थिए। अनुसन्धानबाट ती औषधिहरू नेपालबाट भारत तस्करी भएको खुलासा भएको हो।यस प्रकरणका मुख्य आरोपी नवीन आर्य हाल फरार छन्। उनी दिल्लीको चाँदनी चोकस्थित ‘क्यान्सर एण्ड हेपाटाइटिस ट्रीटमेन्ट सेन्टर’ नामक क्लिनिक चलाउँदै आएका थिए। आर्य यसअघि पनि यस्तै मुद्दामा जेल परिसकेका थिए र जमानतमा छुटेका थिए। यसपटक भने उनले तस्करीको रुट परिवर्तन गर्दै नेपालमार्ग प्रयोग गरेको अनुसन्धानमा खुलेको छ।प्रहरीका अनुसार आर्यसहितको गिरोहले सामाजिक सञ्जालमार्फत बिरामीहरूलाई लक्षित गर्थे। महँगा क्यान्सर औषधिमा भारी छुट दिने लोभ देखाएर अनलाइन अर्डर लिने र डेलिभरी गर्ने गरिन्थ्यो।
यस क्रममा नगद कारोबार मात्र हुने भएकाले वित्तीय कारोबार ट्र्याक गर्न कठिन भइरहेको प्रहरीको भनाइ छ। उनका मोबाइलमार्फत अर्डर लिने र ह्वाट्सएपमार्फत सम्पर्क हुने प्रमाण फेला परेको छ, जसले आर्यकी पत्नी पनि संलग्न भएको संकेत दिएको छ।दिल्लीको लक्ष्मीनगर, बुढ विहार र चाँदनी चोकमा छापा मारेर ६ जना पक्राउ परेका थिए। उनीहरूको साथबाट लाखौं रुपैयाँ बराबरको नक्कली औषधि बरामद गरिएको थियो।
पछिल्लो अनुसन्धानमा थप दुई व्यक्ति पक्राउ परेका छन्, जसले नेपालबाट औषधि ल्याएको स्वीकार गरेको प्रहरीको दाबी छ।क्राइम ब्राञ्चका डीसीपी विक्रम सिंहले अनुसन्धान जारी रहेको बताउँदै भने, “हामी फरेन्सिक परीक्षणको विस्तृत रिपोर्ट पर्खिरहेका छौं। यदि कसैले अनलाइनमार्फत यस्ता औषधि खरिद गरेका छन् भने, कृपया सम्पर्क गर्नुहोस्, ताकि हामी सञ्जालको सम्पूर्ण रेखा फेला पार्न सकौं।”
यो प्रकरणले नेपाल र भारतबीच स्वास्थ्य सुरक्षासम्बन्धी समन्वयको आवश्यकता औंल्याएको छ।