बुधबार रातिको बाढीले विनयी खोलाको डाइभर्सन पुरेपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल खण्ड बिहीबार बिहान ८:४५ बजेदेखि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले वर्षातका कारण खोलाको बहाव बढ्दा डाइभर्सनमाथि पानी बगेको जानकारी दिए।
बाढीले डाइभर्सन अवरुद्ध भएपछि यात्रुबाहक र साना सवारी साधनलाई होङ्सीगेटबाट सर्दी हुँदै वैकल्पिक बाटो प्रयोग गर्न लगाइएको छ, भने ठूला मालबाहक सवारी साधन दुवैतर्फ रोकिएका छन्। गत पुस २६ गते विनयी खोलाको पुरानो पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। यो डाइभर्सन खोलाले चौथो पटक अवरुद्ध गरेको हो।
नारायणघाट–बुटबल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार निर्माणाधीन नयाँ पक्की पुलको ढलान जेठ २३ गते सम्पन्न भई आगामी असार १४ गतेदेखि सञ्चालनमा आउने छ। ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न सकिनेछ।