पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपुरका चोरमारा, दुम्किबास र दाउन्ने क्षेत्रका वैकल्पिक सडक बाढीले बगाएपछि शुक्रवार बिहानदेखि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार राति परेको भारी वर्षाका कारण चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका डाइभर्सन सडकहरू बगाएका हुन्। यी स्थानहरूमा शुक्रवार बिहानैदेखि वैकल्पिक सडक मर्मत तथा पुनर्निर्माणको काम थालिएको प्रहरीले जनाएको छ।
खुर्सानी खोलामा बर्दघाट बजारदेखि करिब ५ किलोमिटर पूर्व निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाउँदा महेन्द्र राजमार्ग अवरुद्ध भएको हो। सोही स्थानमा तरकारी बोकेको लु ३ च ८४९३ नम्बरको पिकअप भ्यान बगाएको ट्राफिक प्रहरी सई तीर्थ भुसालले जानकारी दिए। यद्यपि घटनामा कुनै मानवीय क्षति भने नभएको उनले बताए।
सई भुसालका अनुसार राति सवा २ बजेदेखि राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध छ। सडक खुलाउने प्रयास भइरहे पनि अविरल वर्षाका कारण कठिनाइ भइरहेको छ।
त्यसैगरी, चोरामाराको फलामे पुल भाँचिएपछि निर्माण गरिएको अस्थायी वैकल्पिक सडक समेत बाढीले बगाएको छ। उता दुम्किबासस्थित विनयी खोलाको पुल भाँचिएपछि निर्माण गरिएको डाइभर्सन पनि बाढीले बगाएपछि हजारौं यात्रु राजमार्गमा अलपत्र परेका छन्।
बिहीबार राति दाउन्ने र आसपासका क्षेत्रमा परेको लगातार वर्षाले सडकको अवस्था झनै बिगारेको छ। पूर्वपश्चिम यात्रा गर्ने सयौं सवारीसाधन चोरमारा र बर्दघाट क्षेत्रमा रोकिएका छन्, जसका कारण यात्रुहरू घण्टौंसम्म सडकमा अड्किन बाध्य भएका छन्।