काठमाडौँ। सङ्घीय संसद्का दुवै सदन– प्रतिनिधिसभा र राष्ट्रियसभा– को बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे सुरु हुनेछ।
प्रतिनिधिसभाको बैठकमा गृह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सांसदहरूका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ पारित गर्न प्रस्ताव राख्नुहुनेछ। पूर्वाधार विकास समितिको प्रतिवेदनसहित यो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ।
राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ पेस गर्नुहुनेछ। सरकारले यो विधेयकमार्फत नेपालको चलचित्र उद्योगलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने लक्ष्य राखेको छ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ माथि छलफलका लागि प्रस्ताव पेस गर्नुहुनेछ।
साथै, राष्ट्रियसभामा भौतिक पूर्वाधार तथा यातायात र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।