ट्रेन्डिङ

Logout

बेनीका सहकारीले नगरपालिकाको ताकेतालाई बेवास्ता, कोपोमिस अद्यावधिकमा ढिलासुस्ती

7.3k Shares

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा सञ्चालित सहकारी संस्थाहरूले बेनी नगरपालिकाको ताकेता र निर्देशनलाई बेवास्ता गर्दै आएका छन्। नगरपालिका क्षेत्रभित्र रहेका सहकारीहरूको नियमन गर्ने जिम्मेवारी नगरपालिकाकै भए पनि सहकारीहरूले उसको निर्देशन पालना नगरेको गुनासो नगरपालिकाले गरेको छ।

बेनी नगरपालिकाका सहकारी शाखा प्रमुख प्रभा शर्माका अनुसार, नगर क्षेत्रमा ५५ सहकारी दर्ता भए पनि ती संस्थाहरूले नियमित रूपमा गर्नुपर्ने काम र राज्यलाई बुझाउनुपर्ने विवरण उपलब्ध गराउँदैनन्। “पटक–पटक कारोबार र अन्य विवरण माग्दा पनि सहकारीहरूले बुझाउँदैनन्,” शर्माले भन्नुभयो।

सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा अद्यावधिक गर्नुपर्ने विवरण समयमै उपलब्ध नगराउँदा नियमन र योजना निर्माणमा समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो। कोपोमिसले सहकारीको तथ्याङ्कलाई विश्वसनीय र नियमित बनाएर अनुगमन र नियमनलाई सहज बनाउने लक्ष्य राख्छ।

नगरपालिकाले सबै सक्रिय सहकारीका प्रतिनिधिलाई कोपोमिस अद्यावधिक र सञ्चालक–व्यवस्थापकको जिम्मेवारीसम्बन्धी तालिम दिएको थियो। सहकारी रजिस्ट्रार कार्यालयको आयोजना र नगरपालिकाको समन्वयमा समेत प्रशिक्षण भए पनि सहकारीहरूले अद्यावधिकमा चासो नदिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले गुनासो गर्नुभयो। “विगतमा शून्यजस्तै थियो, केही सुधार भए पनि अपेक्षाकृत प्रगति छैन,” उहाँले भन्नुभयो। 

सहकारी शाखा प्रमुख प्रभा शर्माले सहकारीहरूलाई “विवरण अद्यावधिक गर्नुस् वा हामीलाई उपलब्ध गराउनुस्, हामी अद्यावधिक गर्छौँ” भन्दा पनि आनाकानी गरेको बताउनुभयो। फोन र पत्राचार गर्दा पनि सहकारीहरूले खासै चासो नदेखाएको उहाँको भनाइ छ। 
नगरपालिकाका अनुसार, ५५ सहकारी दर्ता भए पनि हाल ४३ वटा मात्र सक्रिय छन्। बाँकी १२ सहकारी अस्तित्वमा नरहेको नगरपालिकाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार