ट्रेन्डिङ

Logout

साहेवगञ्ज नाकाबाट खुलेआम तस्करी, तामाङको नेतृत्वमा सशस्त्र प्रहरीको संलग्नता आरोप

14.4k Shares

देवानगञ्ज । सुनसरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. ५ स्थित साहेबगञ्ज नाकामा तस्करी गतिविधि दिनप्रतिदिन तीब्र रुपमा बढ्दै गएको छ। भारतसँगको खुला सिमानाका कारण यो नाका वर्षौंदेखि संवेदनशील रहँदै आएको भए पनि पछिल्लो समय सुरक्षा निकायको लापरवाही तथा आन्तरिक मिलेमतोका कारण समस्या अझ गम्भीर बन्दै गएको छ।

स्थानीयहरूका अनुसार सीमामा सुरक्षाको जिम्मेवारी पाएका शसस्त्र प्रहरी बल र नेपाल प्रहरी दुवै निकाय तस्करी नियन्त्रणमा पूर्णतः असफल देखिएका छन्। अझ गम्भीर कुरा त, स्थानीय सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) अनि तामाङमाथि नै तस्करीमा संलग्न व्यक्तिहरूसँग मिलेमतो रहेको गम्भीर आरोप लागिरहेको छ।

साहेबगञ्ज नाकाबाट दैनिक रूपमा नेपाल तर्फबाट लागुऔषध गाँजा, मदिरा, तथा भारत तर्फबाट लागुऔषध फेन्सीड्रिल, करेक्स, रज्निगन्धा, तरकारी, चिनी, लत्ताकपडा, तेल, खाद्यान्नलगायतका वस्तुहरू साना गाडी, साइकल, मोटरसाइकल र पैदल यात्रीमार्फत भित्र्याइन्छ। स्थानीयले आरोप लगाएका छन् कि तस्करीको समय, मार्ग र ढुवानीका सवारी साधनबारे सुरक्षाकर्मीलाई पहिले नै जानकारी हुन्छ, तर उनीहरू जानाजानी आँखामा पट्टी बाँधेर बस्ने गरेका छन्।

“केही सामान दिनमा समाते पनि भन्सारमा बुझाउँदैनन् बरु राती प्रहरीकै सेटिङमा तस्करलाई फिर्ता गरिन्छ,” एक स्थानीय व्यापारीले भने, “हामीलाई त अब बोल्न पनि डर लाग्छ।”

तस्करीको सक्रियता बढेपछि स्थानीयले सशस्त्र प्रहरी बल साहेबगञ्जमा गोप्य जानकारी गराउँदा समेत ध्यान दिएको छैन। निरीक्षक तामाङले त्यस्ता उजुरीहरू बेवास्ता गर्नुका साथै उजुरीदातालाई नै डरधम्की दिने गरेको आरोप लागेको छ। “हामीले तस्करीको फोटो खिच्यौं, तर त्यसपछि फोनमा धम्की आयो — ‘यस्तो गर्‍यो भने पछुताउनु पर्छ’,” पीडित एक व्यक्तिले बताए।

कतिपय स्थानीयले तामाङको तस्करी गिरोहसँग नियमित ‘सेटिङ’ रहेको र निश्चित रकमको आधारमा नाका पार गर्ने सुविधा दिइने गरेको समेत खुलासा गरेका छन्।

शसस्त्र प्रहरीको मुख्य भूमिका सीमामा निगरानी र अवैध गतिविधि नियन्त्रण गर्नु हो। तर साहेबगञ्ज नाकामा उनीहरू ‘मुखदर्शक’ मात्र बनेको देखिन्छ। तस्करी रोक्न खोज्ने स्थानीय युवाहरूलाई समेत धम्की दिने गरेको आरोप लागिरहेको छ।

गाउँपालिकाको प्रशासन तथा वडास्तरका जनप्रतिनिधिहरूले समेत यस विषयमा बोल्न डर मानिरहेका छन्। एउटा वडाध्यक्षले नाम नखुलाउने सर्तमा भने, “प्रहरी र तस्करहरूबीच साँठगाँठ भएको हल्ला निकै चलिरहेको छ। हामीले आवाज उठायौं भने व्यक्तिगत जोखिम बढ्छ।”

विश्लेषकहरूका अनुसार सीमावर्ती सुरक्षामा यस किसिमको लापरवाहीले राष्ट्रिय सुरक्षासम्ममा असर पुर्याउन सक्छ। तस्करीसँगै लागूऔषध, मानव तस्करी, आपराधिक गिरोहको आवतजावत जस्ता खतरा पनि बढ्न सक्छन्।

स्थानीय नागरिक समाज, सञ्चारकर्मी र केही सचेत जनप्रतिनिधिहरूले तत्काल अनुसन्धान समिति गठन गरी प्रहरी निरीक्षक तामाङ र शसस्त्र प्रहरी टोलीमाथि छानबिन गर्न माग गरेका छन्। साथै, सीमामा प्रविधियुक्त निगरानी प्रणाली — जस्तै CCTV, ड्रोन निगरानी, मोबाइल गस्ती — र जनसहभागिता मार्फत सूचना प्रणाली सुदृढ गर्न सुझाव दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार