काठमाडौँ– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’विरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी परेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा २०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख बनेका झाविरुद्ध परिवर्तित नाम ‘२६ परिसर ३२ (०८१-०८२)’ ले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी हुन्।
जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता अपीलराज बोहोराले खबरहबसँग कुरा गर्दै जाहेरी प्राप्त भएको र अनुसन्धान सुरु भएको पुष्टि गरे। “जाहेरी आएको छ, र यसबारे अनुसन्धान अघि बढिसकेको छ,” उनले भने। “अनुसन्धानसँगै झाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ।”
आरोपअनुसार, झाले आफूलाई राष्ट्रवादी र मधेशवादी अभियन्ताका रूपमा प्रस्तुत गर्ने गरेका छन्। उनकै घरमा बस्ने क्रममा घटनाको समयमा नाबालिक रहेकी पीडितले जबरजस्ती करणीको आरोप लगाएकी छिन्। जाहेरीमा झाले मधेश मूलकी ती नाबालिकलाई १७ वर्षको उमेरदेखि शारीरिक र मानसिक यातना दिएको उल्लेख छ। कानुनअनुसार १७ वर्ष नाबालिक उमेर हो, र सहमति भए पनि यस्तो सम्बन्धलाई बलात्कार मानिन्छ।
प्रहरीका अनुसार, पीडितले सुरुमा राष्ट्रिय महिला आयोगमा सहायता मागेकी थिइन्। त्यसपछि उनलाई प्रहरी परिसर पुर्याइएको थियो। अधिकारकर्मीको सहयोगमा ती युवतीले २०८१ माघ १० गते जाहेरी दर्ता गराएकी थिइन्, र गत फागुन ३ गते यो औपचारिक रूपमा दर्ता भएको थियो।
महिला तथा बालबालिका सेवा केन्द्रले यो प्रकरणको अनुसन्धान थालेको छ।
प्रहरीले झाविरुद्ध जिल्ला अदालत, काठमाडौँबाट पक्राउ आदेश लिने तयारी गरेको छ। यसअघि सामाजिक सञ्जालमा सक्रिय रहने झा हाल मौन छन्। खोजी गर्दा सम्पर्कमा नआएमा उनलाई पक्राउ गर्ने प्रहरीको तयारी छ।
एसपी बोहोराले यो विषयमा गम्भीर अनुसन्धान भइरहेको र पीडितको दाबीलाई पुष्टि गर्ने आधारहरू फेला परेमा झा तत्काल पक्राउ पर्न सक्ने बताए। यो प्रकरणले सामाजिक र राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ, किनकि झा मधेश प्रदेशको उच्च ओहोदामा बसेका व्यक्ति हुन्।