ट्रेन्डिङ

Logout

वैदेशिक रोजगारीको मेडिकल शुल्क वृद्धिप्रति नेपाल ट्रेड युनियन कांग्रेसको आपत्ति

7.1k Shares
काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल) शुल्क वृद्धिको निर्णयप्रति कडा आपत्ति जनाएको छ। सरकारले एकैपटक स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट ९ हजार ५ सय रुपैयाँ पुर्‍याएपछि ट्रेड युनियनले यो कदमको विरोध गरेको हो।
 
एनटीयुसीका महासचिव अजयकुमार राईले सोमबार जारी गरेको विज्ञप्तिमा मन्त्री र मन्त्रालयका अधिकारीहरू मेडिकल व्यवसायीको प्रभावमा परेर शुल्कमा तीन हजार रुपैयाँ वृद्धि गरेको आरोप लगाउँदै यसको भर्त्सना गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “हाल ४० लाखभन्दा बढी नेपाली विभिन्न देशमा कार्यरत छन्। तीमध्ये अधिकांश खाडी मुलुक, मलेसिया, जापान, दक्षिण कोरिया र भारतमा छन् भने केही अमेरिका, युरोप र अस्ट्रेलियामा छन्। वार्षिक करिब ५ लाख नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिन्छन्। उनीहरूले पठाएको रेमिट्यान्सले नेपालको कुल गार्हस्थ्य उत्पादनको २९ प्रतिशत हिस्सा ओगट्छ र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँछ।”
 
विज्ञप्तिमा अगाडि उल्लेख छ, “वैदेशिक रोजगारी लाखौं नेपालीको जीवनको आधार बनेको छ। यद्यपि, स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। तर तत्काल स्वदेशमा रोजगारी सिर्जना गर्नु चुनौतीपूर्ण छ। यस्तो अवस्थामा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सरकार र सरोकारवालासँग सहकार्य गरिरहेका बेला मेडिकल शुल्क वृद्धि गरिनु आपत्तिजनक छ। हामी यो निर्णयको घोर भर्त्सना गर्छौं र बढाइएको शुल्क तत्काल फिर्ता लिन सरकारसँग माग गर्छौं।”
 
यता, सरकारले भने स्वास्थ्य परीक्षणको गुणस्तर सुधार गर्ने उद्देश्यले शुल्क समायोजन गरिएको दाबी गरेको छ। मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूलाई तयारी गर्न निर्देशन दिइसकेको र यसबारे सूचना प्रकाशित गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार