जिल्लामा एक सप्ताभित्र नै दोस्रो पटक बालिकामाथि सामूहिक बलात्कारको घृणित घटना सामने आएको छ। यसअघि जलेश्वरमा भएको बलात्कारको घटनाको साता नबित्दै बलवा नगरपालिकामा अर्को बालिकामाथि सामूहिक बलात्कार भएको छ।
घटनाको शिकार बालिकाका बुबाले बताए अनुसार, बिहीबार राति दुई युवकहरूले आफ्नी छोरीलाई अपहरण गरी बलात्कार गरेका हुन्। उनले आफू कामबाट घर फर्कँदा दुई युवकले एक बालिकालाई कपडाले अनुहार छोपेर घिसार्ने देखे तर वास्ता नगरेको, तर घर पुग्दा छोरी नभेटिएपछि खोज्न निस्केको बताए।
"खोज्दै जाँदा आफ्नै छोरी निर्वस्त्र अवस्थामा रुदै भेटिएकी थिइन्। मैले एक जनालाई लाठीले हान्दा घाइते भयो, अर्को भाग्यो," पीडितका बुबाले आफ्नो दुःख साटे।
उनले गुनासो गर्दै भने, "प्रहरीले बलात्कारीको खुट्टामा चोट लागेकोमा मात्र ध्यान दिएर मलाई दिनभर थुन्यो, छोरीको न्यायको लागि कारबाही गर्न भने ढिला गर्यो। यो मेरो छोरीमाथि तेस्रो पटक भएको घटना हो।"
जिल्ला प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले घटनाको जानकारी पाइएपछि टोली खटाएर बालिकालाई जलेश्वर प्रादेशिक अस्पताल लगेर स्वास्थ्य जाँच गराइएको बताए। उनका अनुसार एक आरोपी प्रहरी निगरानीमा उपचारधिन रहेको छ भने अर्को फरार छ।
"दुबै आरोपी नाबालक हुन्। घटनाको गम्भीरतालाई ध्यानमा राखेर अनुसन्धान अघि बढाइएको छ," डीएसपी जयसवारले बताए।
यसअघि एक सप्ता भित्र नै जलेश्वरमा १७ वर्षीय किशोरले बालिकामाथि बलात्कार गरेको घटना प्रकाशमा आएको थियो। प्रहरीले आरोपीलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो।
नयाँ घटनाले समाजमा रुष्टि व्यक्त गर्दै स्थानीय नागरिकहरूले प्रहरीको निष्क्रियतामा आपत्ति जनाएका छन्। मानवअधिकार संगठनहरूले घटनाको गम्भीर अनुसन्धान गरी दोषीहरूलाई कडा सजाय दिन माग गरेका छन्।