ट्रेन्डिङ

Logout

सुनसरीको देवानगञ्ज गाउँपालिकामा योग भवनको शिलान्यास

8.1k Shares

देवानगञ्ज । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नम्बर -६ मा रहेको चमैनिया पोखरीको छेउमा निर्माण हुने योग भवनको आज शिलान्यास गरिएको छ।

शिलान्यास कार्यक्रम देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता र वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहताले संयुक्त रूपमा सम्पन्न गर्नुभयो। कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष सुशील मेहता, वडा नम्बर ३ का वडा अध्यक्ष अनिल भगत, स्थानीय समाजसेवी रामप्रसाद मेहता, पतंजली योग समितिका सुनसरी जिल्ला सदस्य समरकिशोर मेहता लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष मेहताले योग भवनको निर्माणले स्थानीय बासिन्दालाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। स्थानीय समुदायको सक्रिय सहभागितासहित निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

गाउँपालिकाले यो परियोजनालाई सफल बनाउन आवश्यक बजेट तथा स्रोतसाधन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। साथै, स्थानीय जनताको सहयोग र सहकार्यले निर्माण कार्यलाई सहज बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा वडा -६ का वडा अध्यक्ष हरिनन्दन मेहताले मन्तव्य राख्दै योग तथा स्वस्थ जीवनशैलीको महत्वबारे प्रकाश पार्दै, योग भवनले नयाँ पुस्तालाई समेत प्रेरित गर्ने विश्वास व्यक्त गर्नुुभएकाे छ।

भवन निर्माणका लागि देवानगञ्ज गाउँपालिकाबाट ७ लाख ५० हजार रुपैयाँ र संघीय सरकारबाट २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। ठेक्का भने २८ लाख ७६ हजार ६ सय ७७ रुपैयाँ ४० पैसामा साहेवगञ्ज कन्स्ट्रक्सनले लिएको छ।

निर्माण कार्य २०८२ साल मंसिर ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको छ। स्थानीय प्रशासनले निर्माण कार्यको नियमित अनुगमन गर्ने जनाएको छ। साथै, गुणस्तरीय निर्माण कार्य सुनिश्चित गर्न सबै सरोकारवालासँग सहकार्य गरिने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार