महोत्तरी, २० चैत : होटल तथा पर्यटन व्यवसायी सङ्घ, नेपालको नवनिर्वाचित मधेस प्रदेश समितिले पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । आइतबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट निर्वाचित कार्य समितिले मधेसका पर्यटकीयस्थलको पहिचान, तिनको प्रवद्र्धन र सञ्चालनले नै समृद्धिको आधार फराकिलो बनाउने जनाएको हो ।
“मधेसका पर्यटकीय सम्भावनाका क्षेत्रको पहिचान गर्ने, तिनको समुचित सम्भार एवं सञ्चालन गर्ने मुख्य कार्यभार बनाएका छौँ,” सङ्घको दोस्रो कार्यकालका लागि प्रदेश अध्यक्ष निर्वाचित हुनुभएका हिरा गौतम भन्नुहुन्छ, “यसको पहिलो आधार धार्मिकस्थल हुन् ।” पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मका विभिन्न धर्मपरम्परासँग जोडिएका धार्मिक आस्थाका केन्द्रलाई सुव्यवस्थित गर्न सकिए पर्यटन प्रवद्र्धनमा खास नतिजा प्राप्त हुने सङ्घको विश्वास रहेको गौतमको भनाइ छ ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि गौतमले आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँगको कुराकानीमा सप्तरीका छिन्नमस्ता, कङ्कालिनी, शम्भुनाथ, सिरहाका सहलेस, महिसौथा, धनुषाका जनकपुरधाम सेरोफेरोका धार्मिकस्थल, महोत्तरीका जलेश्वर, रौजामजार, कारिखस्थान, टुटेश्वर, मङ्गलनाथ, पञ्चधुरा माईस्थान, राईमण्डल, सोनामाईस्थान र कञ्चनवन मुख्य धार्मिकस्थल रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, सर्लाहीका नाढीमन ताल, रौतहटका सहिदपार्क, बाराका गढीमाई मन्दिर र पर्साका वीरगञ्ज सेरोफेरोका कैयौँ स्थल समुचित सम्भार पर्खिरहेको उहाँको भनाइ छ ।
स्थानीय सरकारसँगको सहकार्य र समन्वयबाट यी स्थलको विकासको प्रारुप तयार गर्नु प्रारम्भिक काम रहेको सङ्घले जनाएको छ । धार्मिकस्थलसँगै भूगोलको विविधता, वनजङ्गल, तालतलैया र औद्योगिक क्षेत्र पर्यटन प्रवद्र्धनका लागि पहिचान गरिनुपर्ने ठाउँ हुने गौतम बताउनुहुन्छ । पर्यटकका लागि न्यानो स्वागत, खानपान, आवास र घुमफिरको उच्चतम् प्रबन्ध होटल व्यवसायले दिनसक्नुपर्ने सङ्घले जनाएको छ । मधेसका जिल्लामा पछिल्ला केही वर्षयता सुविधा सम्पन्न होटल थपिँदै गएसँगै सेवालाई विविधीकरण गर्न आवश्यक भएको सङ्घको ठहर छ । तीनै तहका सरकारको सहकार्य र समन्वयमा पर्यटन प्रवद्र्धनको काममा सङ्घ अघि बढ्ने अध्यक्ष गौतमको भनाइ छ ।