ट्रेन्डिङ

Logout

प्रज्ञा स्मृति साइक्लिङ क्रस कन्ट्री ओलम्पिक सम्पन्न

7.5k Shares

चितवन, १० चैत : प्रज्ञा स्मृति साइक्लिङ एमटिबी एक्ससिओ क्रस कन्ट्री ओलम्पिक आज यहाँ सम्पन्न भएको छ । 

तेस्रो संस्करणमा आयोजना गरिएको पुरुष इलिटतर्फ सिन्धुपाल्चोक घर भएका सशस्त्र प्रहरीका सुरज रानामगरले निर्धारित दूरी एक घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै पहिलो हुनुभएको कार्यक्रमका संयोजक सन्तु दराईले जानकारी दिनुभयो । रानामगरले उपाधिसँगै नगद रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

कन्ञ्चनपुरका हिमाल तामाङले निर्धारित दूरी एक घण्टा १४ मिनेट ५५ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गर्नुभयो । उहाँले  नगद रु ४० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । तेस्रो स्थान धादिङमा लक्ष्मण मल्लले प्राप्त गर्दै नगद रु ३० हजार, मेडल र प्रमाणपत्र हात पार्न सफल हुनुभयो । 

गणेशधामस्थित पुण्यवती तालको वरपर चार दशमलव पाँच किलोमिटर परिधिभित्रको रेस कोर्समा एक घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगिलाई सात पटकसम्म परिक्रमा गराइएको थियो । 

महिला इलिटतर्फ काठमाडौँकी उषा खनालले एक घण्टा १६ मिनेटमा सो दूरी पार गर्दै उपाधि हासिल गर्नुभयो । काठमाडौँकी लक्ष्मी मगरले एक घण्टा १८ मिनेट २३ सकेण्डमा निर्धारित दूरी पार गरी दोस्रो बन्नुभयो । पाँचथरकी इन्द्रकला नेबाङले एक घण्टा २१ मिनेट ३७ सकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो बन्न सफल हुनुभयो ।

स्व ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ ।  पुरुष इलिटतर्फ प्रथम सिन्धुपाल्चोकका सुरज रानामगर र महिला इलिटतर्फ प्रथम काठमाडौँकी उषा खनाल मलेसियामा हुने एसियन प्रतियोगितामा सहभागी हुने अवसरसमेत प्राप्त गर्नुहुने कार्यक्रमका सहसंयोजक रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै पुरुष मास्टरतर्फ सिन्धुपाल्चोकका हर्कबहादुर लामाले निर्धारित दूरी एक घण्टा ११ मिनेट ४४ सकेन्डमा पार गर्दै उपधि हात पार्नुभयो । काठमाडौँका विकास महर्जनले एक घण्टा १४ मिनेट २९ सेकेण्डमा पार गर्दै दोस्रो र बाँकेका देवबहादुर बोहराले एक घण्टा १९ मिनेट पाँच सेकेण्डमा पार गर्दै तेस्रो स्थान हात पार्नुभयो ।

यसैगरी पुरुष जुनियरतर्फ उदयपुरका निमा शेर्पाले एक घण्टा ११ मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम हुनुभयो । सुनसरीका सञ्जय राईले एक घण्टा १३ मिनेट ३७ सेकेन्डमा सो दूरी पार गरी दोस्रो बन्नुभयो भने मकवानपुरका राजीव ठाकुरले एक घण्टा २३ मिनेट २८ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हात पार्नुभयो ।
 
यसैगरी चितवन विशेष पुरुषतर्फ प्रमित थापा प्रथम, हेमचन्द्र सुनार दोस्रो र कृष्ण घिमिरेले तेस्रो स्थान हासिल गर्नुभयो । यसैगरी चितवन विशेष महिलातर्फ सुधा तिमिल्सिना प्रथम, मोसमी आले दोस्रो र जुना श्रेष्ठले तेस्रो स्थान हासिल गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताउनुभयो । भरतपुरलाई साइकल सिटीका रूपमा विकास गर्न साइक्लिङ म्यानराथन महत्त्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा ८५ जना खेलाडीहरूको सहभागिता भएको थियो । प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार