काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रलाई जोगाउन केन्द्रीय बैंकले हरसम्भव प्रयास गर्दै आए पनि केही बैंकको ‘बिकार’ भने लुक्न सकेको छैन। पछिल्लोपटक कुमारी बैंकको बिकार सुषुप्त तरिकाले बाहिरिँदै गएको छ।
सिंगो बैंकिङ प्रणालीमा नै असर पर्न सक्ने विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले खराबै भए पनि तत्काल कारबाहीको डन्डा चलाउन हच्किँदा बैंक तथा वित्तीय संस्थाभित्र मनपरी मौलाउँदै गएको छ । जसको पछिल्लो उदाहरण कुमारी बैंक लिमिटेड हो।
धितोको क्षमताभन्दा अधिक कर्जा प्रवाह, कर्जा असुलीमा लापरबाही तथा धितो लिलामी नहुनेजस्ता कारणले कुमारी बैंकमाथि संकटको बादल मडारिन थालेको छ । मर्जर र एक्विजिसनपछि चुक्ता पुँजीका आधारमा ठूला बैंकको सूचीमा रहेसँगै वित्तीय अनुशासनका आधारमा बैंक पछाडि परेको छ। साथै लगानीकर्तालाई प्रतिफल दिने हिसाबले पनि कुमारी बैंक यतिबेला पुछारमै पुगेको छ ।
प्रतिफल शून्य हुने भएपछि साधारण लगानीकर्ता मात्रै होइन संस्थापक लगानीकर्ताहरू पनि बैकको सेयर बिक्री गरेर बाहिरिने अवस्थामा पुगेका छन् । बैंक व्यवस्थापनको अक्षमताका कारण अर्बौँ रुपियाँ ऋण असुली नहुने र बैंकले प्रतिफल नदिने भएपछि ठूलो संख्यामा संस्थापक सेयर सदस्यहरू बैंकबाट बाहिरन थालेका हुन् ।
बैंक स्रोतका अनुसार रत्न लुइँटेल, मुकुन्दप्रसाद दाहाल, रेवन्तकुमार दाहाल, सूर्य मानन्धर, रमेश लामिछाने, देवकुमारी हुमागाईं, हरिकृष्ण दाहाल, मोहनप्रसाद पाण्डेलगायतका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको लाखौं कित्ता सेयर बिक्रीमा राखेका छन् । उनीहरूबाहेक अन्य कयौं सेयरधनीले पनि आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने प्रक्रिया थालनी गरेको छ - आजको नेपाल समाचारपत्र दैनिकबाट