विराटनगर महानगरपालिका–११ मा रहेको शान्ति युवा क्लबद्वारा आयोजित बर्न (जलन) सम्बन्धी समुदायस्तरीय जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम BVS Nepal को आयोजना तथा एलायन्स युवा क्लबको सहयोगमा विराटनगर–११ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न गरिएको हो।
कार्यक्रम विराटनगर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष त्रिथेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सचिव सरस्वती ढकाल, समाजसेवी अञ्जु अधिकारी तथा शान्ति युवा क्लबका संस्थापक अध्यक्ष विपुल चौधरीको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा विभिन्न वडाका करिब ५५ जना महिलाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आगलागी तथा जलनका मुख्य कारण, यसबाट बच्ने उपाय, ग्यास तथा विद्युतीय उपकरण प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा जलन भइहालेमा तत्काल गर्नुपर्ने प्राथमिक उपचारबारे विस्तृत जानकारी तथा सचेतना प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष त्रिथेन्द्र न्यौपानेले यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै समयमै उपचार गर्न सके जलनका कारण हुने जटिलता कम गर्न सकिने धारणा राख्नुभयो। उहाँले विशेषगरी महिलाहरू भान्सामा खाना पकाउने क्रममा बढी जोखिममा पर्ने भएकाले सावधानी अपनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी शान्ति युवा क्लबका अध्यक्ष विपुल चौधरीले यस्ता कार्यक्रम प्रत्येक वडामा सञ्चालन गर्दै आम नागरिकलाई जलनबाट कसरी बच्ने र समयमै उपचार कसरी गर्ने भन्नेबारे जानकारी दिने उद्देश्य रहेको बताउनुभयो। उहाँले शान्ति युवा क्लबले BVS Nepal (Burn Violence Survivors), काठमाडौंसँग सहकार्य गरी जलनसम्बन्धी निःशुल्क उपचारको व्यवस्था मिलाउने तयारीसमेत भइरहेको जानकारी दिनुभयो।
कार्यक्रमको अन्त्यमा आयोजकले “सचेत बनौँ, सुरक्षित रहौँ, अरूलाई पनि बचाऔँ” भन्ने सन्देशसहित समुदायमा यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।