सुनसरी। सुनसरी निर्वाचन क्षेत्र नं.–४ मा स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यले इनरुवा अस्पताललाई आधुनिक र व्यवस्थित बनाउने अभियान सुरु गरिएको छ। स्थानीय जनतालाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पतालको स्तरोन्नति प्रक्रिया अगाडि बढाइएको हो।
प्रस्तावित योजनाअनुसार अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्था गरिने, CT Scan मेसिन जडान लगायत अत्यावश्यक स्वास्थ्य उपकरण थपिने, साथै अस्पताल भवन विस्तार गरी थप तल्ला निर्माण गरिनेछ। त्यस्तै, डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरूका लागि आवास गृह निर्माण गर्ने योजना समेत अघि सारिएको छ।
उक्त योजनालाई कार्यान्वयनमा ल्याउन संघीय स्वास्थ्य मन्त्रालयसँग आवश्यक बजेट माग गरिएको छ। यसै सन्दर्भमा माननीय स्वास्थ्य मन्त्री निशा मेहता समक्ष सांसद अशोक चौधरी, इन्जिनियर दीपक कुमार साह लगायतको टोलीले सिंहदरबारमा औपचारिक रूपमा मागपत्र पेश गरेका छन्।
पहलकर्ताहरूले अबको लक्ष्य स्पष्ट रहेको बताएका छन्।आधुनिक सुविधा सहितको अस्पताल निर्माण गर्ने, स्थानीयस्तरमै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने र आम नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा ल्याउने।
सुनसरी-४ लाई स्वास्थ्य सेवाको क्षेत्रमा नमुना क्षेत्रका रूपमा विकास गर्ने अभियान सफल बनाउन सबै सरोकारवालाहरू एकजुट हुनुपर्ने आवश्यकता समेत औंल्याइएको छ।