नेपाली कांग्रेसका प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले मधेश प्रदेशको नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने दाबी गरेका छन्। सात दलीय गठबन्धनभित्र कांग्रेस नै ठूलो दल भएको भन्दै उनले सबै दल कांग्रेस नेतृत्वमा सरकार बनाउन सकारात्मक रहेको बताए।
यादवका अनुसार, मधेश प्रदेशमा कांग्रेसबाहेकका सबै दलले पालैपालो नेतृत्व गरिसकेकाले अब कांग्रेसको पालो आउनु स्वाभाविक भएको छ। उनले भने, “एमाले नेतृत्वको सरकारले आन्दोलनकै क्रममा बहुमत गुमाएपछि सात दलीय गठबन्धनका नेताहरू नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बनाउने पक्षमा थिए। त्यसैले हाम्रो दाबी जायज छ।”
उनले आजै गठबन्धनको सहमतिमा कांग्रेस नेतृत्वमा सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष पेस गर्ने तयारी रहेको बताए।
एमाले नेतृत्वका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कार्कीले बुधबार संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेशसभाका सदस्यहरूलाई दुई वा दुईभन्दा बढी दलको समर्थनसहित बहुमतको दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्म समय दिएको छ।
सात दलीय गठबन्धनमा नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, एकीकृत समाजवादीका ७, माओवादी केन्द्रका ९, लोसपाका ९ र नागरिक उन्मुक्ति पार्टीका १ जना सांसद रहेका छन्।