ट्रेन्डिङ

Logout

मुख्यसचिव अर्यालले भने सुशासनको आधार चुस्त र आधुनिक निजामती प्रशासन

3k Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पदभार ग्रहण गर्दै मुख्यसचिव सुमनराज अर्यालले निजामती प्रशासनको महत्व र यसको गुणस्तर मुलुकको सुशासनसँग प्रत्यक्ष सम्बन्धित हुने बताए।

अर्यालले भने, “निजामती प्रशासन जति चुस्त, स्वच्छ, इमान्दार र जनसेवी विकासमैत्री हुनेछ, मुलुकमा सुशासनको स्तर त्यत्ति नै माथि जान्छ। अनुशासन र चेन अफ कमाण्ड निजामती सेवाका आधारभूत तत्व हुन् र यीलाई कुनै पनि बहानामा भत्काउन वा बिगार्न हुँदैन। सबै साथीहरूले यी आधारभूत तत्वलाई सदैव हृदयङ्गम गरी आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुपर्छ।”

मुख्यसचिव अर्यालले राजनीति र प्रशासनलाई परिपूरक तत्वका रूपमा प्रस्तुत गर्दै दुवैबीच आपसी विश्वास, समन्वय र सहयोग आवश्यक रहेको पनि औंल्याए। उनले जेनजी पुस्ताका असल र उत्तरदायी शासनका मागहरू गम्भीरताका साथ ध्यान दिनुपर्ने बताए।

“जेनजी पुस्ताले असल र उत्तरदायी शासनको माग गरेका छन् र देशभित्रै गरिखाने वातावरण निर्माण गर्न दबाब दिएका छन्। यसलाई गम्भीरताका साथ मनन गरी काम गर्न आवश्यक छ। निजामती सेवालाई जनउत्तरदायी, सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रको रूपमा स्थापना गर्न नेतृत्व तहबाट आवश्यक पहल लिनुपर्छ,” उनले थपे।

अर्यालले स्पष्ट पारे कि आफ्नो मुख्य सचिवको भूमिकामा व्यक्तिगत स्वार्थ वा एजेन्डा नहुने र जिम्मेवारीसहित मात्र काम गर्ने उनको प्रतिबद्धता छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार