सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दल तयार भइसकेको र अब मुलुकमा निर्वाचनको वातावरण बनेको दाबी गर्नुभएको छ।
मन्त्री खरेलले मङ्सिर ८ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय मङ्गलबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा सार्वजनिक गर्दै, राजनीतिक दल गाउँदेखि जिल्ला र क्षेत्रसम्म निर्वाचनका लागि लक्षित कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले भने, “केही दलले चुनावमा सहभागी नहुने आशङ्का थियो, तर एमाले समेत निर्वाचन आयोगमा दर्ता भएपछि अब राजनीतिक दलबाट चुनावको माहोल तयार भएको छ।”
सञ्चारमन्त्री खरेलका अनुसार निर्वाचन आयोगले सक्रिय रूपमा काम अघि बढाइरहेको छ र महत्वपूर्ण प्रायः सबै दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन्। आठ लाखभन्दा बढी मतदाता नामावलीमा दर्ता भइसकेको हुँदा आम जनता पनि निर्वाचनमा सक्रिय भइसकेको उहाँले जनाउनुभयो। सुरक्षा योजना तयार भई सम्बन्धित निकायमा पठाइसकिएको र कार्यान्वयनमा रहेको उहाँको भनाइ छ।
उहाँले चुनावको माहोल अझ प्रगाढ र स्पष्ट बन्ने क्रममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने पनि जोड दिनुभयो।
मेलम्ची खानेपानी आयोजना: प्रभावित क्षेत्रको पूर्वाधार विकास, अन्तरनिकाय समन्वय र सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन।
विशेष आर्थिक क्षेत्र: मासिक भाडादर प्रतिवर्ग मिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम।
नेपाल प्रहरी सर्वेक्षण: सङ्गठन र व्यवस्थापनसम्बन्धी पूर्वस्वीकृति प्रदान।
घाइतेको उपचार र राहत: भदौ २३–२४ का प्रदर्शनमा घाइतेका लागि समन्वय समिति गठन, ‘हेल्प डेक्स’ का १० सदस्यलाई चार महिनाका लागि मासिक १५ हजारमा खाजा र यातायात खर्च उपलब्ध गराउने निर्णय।
पर्यावरणीय सहमति: पेट्रोलियम पाइपलाइन, पर्यटन, खानेपानी, सडक, पुल, सिँचाइ, सञ्चार, सार्वजनिक यातायात, विद्युत् प्रसारण, स्वास्थ्य सेवा जस्ता आधारभूत सेवासँग सम्बन्धित कार्यका लागि वातावरणीय अध्ययन, स्वीकृति र वनजग्गा प्रयोग प्रक्रियालाई कानुन अनुसार अघि बढाउने।
अन्तर्राष्ट्रिय सहभागिता: सचिव (विज्ञान प्रविधि) विश्वबाबु पुडासैनीलाई मङ्सिर १५–१९ मा बेइजिङमा हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी कार्यक्रममा सहभागिताका लागि स्वीकृति।
अवकाश र राजीनामा: राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीको अवकाश र नेपाल पानीजहाज कार्यालयका सहसचिव प्रेमकुमार सिंहको राजीनामा स्वीकृत।
मन्त्री खरेलले यी निर्णयहरू मुलुकको प्रशासनिक र विकासगत कामकाजमा प्रभावकारी हुने बताए।