ट्रेन्डिङ

Logout

प्रधानमन्त्री कार्कीको आह्वान: फागुन २१ को निर्वाचनलाई राष्ट्रिय अनुष्ठान बनाऔँ, एकतामा जोड

4.3k Shares

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी सहभागी हुन र सफल बनाउन सबैमा आह्वान गरेकी छन्। 

छठ पर्वको अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा उनले यो कुरा उल्लेख गरेकी हुन्।सन्देशमा उनले भनेकी छन्, “आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसलाई सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।” जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै निर्वाचन सम्पन्न गर्नु सबैको दायित्व भएको र संवेदनशीलतापूर्वक जिम्मेवारी बोध गरी सबैले एकजुट हुनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले सडक प्रदर्शन मात्र समस्याको समाधान नभएको बताउँदै असन्तुष्टि वा अडानलाई शान्तिपूर्ण रूपमा राखेर जनताको मन जित्दै निर्वाचनमार्फत अनुमोदन गराउनु लोकतन्त्रको उत्तम विधि भएको उल्लेख गरेकी छन्।छठलगायतका चाडपर्वले सामाजिक एकता, सद्भाव र भाइचारालाई प्रोत्साहन गर्ने भन्दै उनले अहिलेको अवस्थामा नेपालीहरूबीच थप एकता र सद्भाव आवश्यक रहेको बताएकी छन्।

“पवित्र आस्था, कठिन व्रत र सजिएका नदी–तलाउका किनाराले प्रदान गर्ने शक्तिले सबैमा सद्भाव र खुसी छाओस्,” सन्देशमा उल्लेख छ।उनले छठ पर्वले सत्य, अहिंसा र प्रकृतिप्रेमलाई प्रेरित गर्दै तराई–पहाड जोड्ने सांस्कृतिक र सामाजिक सेतुको भूमिका खेलेको समेत उल्लेख गरेकी छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार