ट्रेन्डिङ

Logout

भारतको सिमलामा जिप दुर्घटना, सल्यानका चारजनाको मृत्यु

5.2k Shares

भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। तीमध्ये तीन जना एउटै परिवारका सदस्य हुन्।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको हो। घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी लक्ष्मीको उपचारका क्रममा मृत्यु भयो भने गम्भीर घाइते डिल्लीबहादुरको पनि इन्दिरा गान्धी मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो।

घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटनापछि भारतीय दण्ड संहिता (न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले बताएका छन्। शवलाई पोस्टमार्टमका लागि पठाइएको र मृतकका परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।

यसबीच, मुख्यमन्त्री सुखविन्दर सिंह सुखु र शिक्षा मन्त्री रोहित ठाकुरले विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उनीहरूले मृतक परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्ने प्रतिबद्धता जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार