बृहत् नागरिक आन्दोलनले २०७२ सालको संविधानलाई प्रतिक्रान्ति परास्त गर्ने सबैभन्दा बलियो किल्ला भनेको बताउँदै यसका आधारमा जेनजी आन्दोलनको सफलताको बाटो पहिल्याउन आवश्यक रहेको अपिल गरेको छ। आन्दोलनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई पनि संविधानभन्दा बाहिर भइरहेका क्रियाकलापमा सहकार्य गरे भने आफ्नो स्थिति स्पष्ट पार्न आग्रह गरेको छ।
आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि जेनजी आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि लामो समयदेखि तयारी गरेको तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको छ, जुन अत्यन्तै डरलाग्दो र अस्वीकार्य रहेको छ। नेपाली सेनाको यो भूमिका खेदपूर्ण भएको उल्लेख गर्दै तुरुन्त सच्याउनुपर्नेमा जोड दिइएको छ।
आन्दोलनले राष्ट्रपतिको अभिभावकत्वमा मात्र छलफल र कार्यक्रम सञ्चालन हुनुपर्ने र प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गर्न सेनालाई आग्रह गरेको छ। साथै, अब बन्ने नागरिक सरकारलाई संविधानको आधारमा उभ्याएर भ्रष्टाचार र बेथितिविरुद्ध सतर्कतासाथ अघि बढ्नुपर्ने ठहर गरेको छ।
विज्ञप्तिमा नागरिक, राजनीतिक, पेसाकर्मी र अन्य समूहलाई जेनजीको नेतृत्वमा सडकमा उत्रेर प्रतिक्रान्ति परास्त गर्न तयार रहन अपिल गरिएको छ। यसले शहीदहरूको बलिदानलाई सार्थक बनाउने र जेनजी क्रान्तिलाई सफल बनाउने मार्ग सुनिश्चित गर्ने लक्ष्य राखेको छ।