नेपाली सेनाले देशको शान्ति सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आज साँझ ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। सेनाको विज्ञप्तिअनुसार, कर्फ्यू आज साँझ ५ बजेपछि पनि निरन्तर रहनेछ र भोलि बिहान ६ बजेसम्म लागू हुनेछ।
आन्दोलनको नाममा अराजक समूहहरूले तोडफोड, आगजनी, लुटपाट र हिंस्रक गतिविधि गर्दै आएको भन्दै सेनाले त्यस्ता कार्यलाई दण्डनीय अपराधका रूपमा लिएर कडा कारबाही गर्ने चेतावनी दिएको छ। व्यक्ति लक्षित आक्रमण तथा बलात्कारको प्रयाससम्मका घटनाहरू भइरहेको उल्लेख गर्दै सेनाले अपराध नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी) सञ्चालन हुनेछन्। सेनाले नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचना मात्रमा विश्वास गर्न अनुरोध गरेको छ। साथै, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।