नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल बन्द हुने परिस्थितिमा समाजमा हराउँदै गएका असल परम्पराहरूलाई पुनःस्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार, यसो गर्दा समाजमा सकारात्मक अनुभूति हुनेछ।
सरकारले सूचीकरण प्रक्रियामा समावेश हुन अटेर गरेका सामाजिक सञ्जाललाई आजदेखि क्रमशः निष्क्रिय पार्ने निर्णय लिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलले सूचीकरणमा नआएका सञ्जाललाई निष्क्रिय बनाउन मन्त्रालयस्तरमा आज नै निर्णय हुने जानकारी दिएका छन्।
फेसबुक, युट्युबसहितका सामाजिक सञ्जाललाई सरकारको सूचीकरणमा आउन भदौ ९ गतेदेखि एक साताको समय दिइएको थियो। तर, सो अवधि बुधबार रातिबाट सकिएको छ। त्यसैले आजदेखि सरकारले सामाजिक सञ्जाल निष्क्रिय पार्ने तयारी गरेको हो।
यही प्रसंगमा पूर्व सञ्चारमन्त्रीसमेत रहेका महासचिव पोख्रेलले फेसबुकमार्फत समाजलाई सन्देश दिँदै भनेका छन्–
“सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खल्बल्याएका असल परम्पराहरूलाई पुनःस्थापित गर्ने कोसिस गरौं। सुखद अनुभूति हुनेछ।”