रौतहटको माधवनारायण नगरपालिका–६ की रुबीकुमारी साहको हत्या आरोपमा संलग्न प्रेमी लक्ष्मण पासवान बुधबार बिहान पक्राउ परेका छन्।
पासवानले आफ्नै जिउमा आगो लगाएको अवस्थामा स्थानीयले उद्धार गरेका थिए। स्थानीयले प्रहरीलाई सूचना दिएपछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने बाटोमा राजदेवी मन्दिर नजिकबाट उनलाई उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएको वरिष्ठ प्रहरी हवल्दार राजेश थारूले जानकारी दिए।
उपचार सम्भव नभएपछि पासवानलाई बर्न हस्पिटल कीर्तिपुर थप उपचारका लागि रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।
पक्राउ अघि पासवानले आफ्नो बनाएको भिडियोमा रुबी साहको हत्या गरेको स्वीकार गरेका छन्। उक्त भिडियो सामाजिक सञ्जालमा केही समयअघि देखिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार अहिलेसम्मको अनुसन्धानले रुबी साहको हत्यारा लक्ष्मण पासवान नै भएको पुष्टि गरेको छ। रुबीको हत्या पछि हत्याराले उनको शव सुटकेसमा राखेर गौर–गंगापिपरा सडक खण्डको मुडवलबाट शनिबार राति फेला परेको थियो।