ट्रेन्डिङ

Logout

प्रचण्डको निर्देशन : गुटबन्दी छाडेर संगठन विस्तारमा लाग्नुस्

4.6k Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्तालाई गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा ध्यान दिन निर्देशन दिएका छन्।

बुधबार भर्चुअल माध्यमबाट सम्पन्न कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले माओवादीप्रति जनताको भरोसा बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षड्यन्त्र भइरहेको दाबी गरे।

प्रचण्डले भने, “माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको छ, त्यसैले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने विभिन्न षड्यन्त्रहरू भइरहेका छन्।” उनले गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन स्थायी समितिले संकल्प गरिसकेको बताए।

हालैका स्थानीय तह, स्ववियु, पत्रकार महासंघ र नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारले विजय हासिल गरेको उदाहरण दिँदै उनले जनविश्वास पुनः प्राप्त हुँदै गएको दाबी गरे।

शिक्षा विधेयकलगायतका राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले विशेषत: शिक्षक समुदायमा सकारात्मक सन्देश पुगेको उनको भनाइ थियो। “कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्,” प्रचण्डले भने।

वाईसीएल, विद्यार्थी संगठनलगायत जनवर्गीय संगठनलाई श्रम र उत्पादनसँग जोड्ने प्रयास सफल बन्दै गएको दाबी गर्दै उनले संगठन विस्तारलाई अझ तीव्र बनाउनुपर्नेमा जोड दिए। “अब घर–घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनु पर्छ,” उनले जोड दिए।

अन्त्यमा प्रचण्डले कर्णाली प्रदेशका सबै नेता–कार्यकर्तालाई पार्टी एकता र संगठन विस्तारमा अग्रसर हुन निर्देशन दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार