रौतहटमा बन्द सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान भएको छ । मृतक माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिएका छन् ।
डीएसपी कार्कीका अनुसार मृतक रुवीकुमारीको स्थायी घर भारतको मुजफ्फरपुर हो र उनका एक छोरा पनि छन् । करिब एक महिनादेखि उनी माधवपट्टीमा डेरा गरी बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा उनको हत्या गरेर शव सुटकेसभित्र राखी सडकमा फालिएको हुन सक्ने आशंका गरिएको छ ।
शनिबार राति साढे १० बजेतिर गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट नजिकै सडकमा सुटकेस फेला परेको थियो । शंकास्पद देखिएपछि प्रहरीले रातभर निगरानी गरेको थियो ।
आज बिहान सुटकेस खोल्दा सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।