भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति जनाएको छ। पाँच जलविद्युत् आयोजना — लिखु–२, लिखु खोला–ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला–ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली आयात गर्न अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
यसअघि भारतले ८१०.९ मेगावाट विद्युत आयातका लागि अनुमति दिएको थियो। नयाँ स्वीकृतिसहित नेपालबाट भारतमा १,०११ मेगावाट निर्यातको बाटो खुलेको छ। साथै, बंगलादेशमा ४० मेगावाट निर्यात भइरहेकाले नेपालको कुल निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको छ।
नयाँ अनुमति प्राप्त २०० मेगावाट विद्युत निर्यातको अवधि आगामी अक्टोबर ३१ सम्म रहनेछ।
गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतलाई विद्युत बिक्री गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। प्राधिकरणका अनुसार, थप निर्यात अनुमतिले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अपेक्षा गरिएको छ।