ट्रेन्डिङ

Logout

बन्धक बनेका विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल पुगे

5.2k Shares

प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुगेका छन्। इजरायल सरकारले संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न बोलाएपछि उनीहरू सोमबार इजरायल प्रस्थान गरेका थिए।

तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका पूर्वराजदूत हानन गोदारलगायतले उनीहरूको स्वागत गरे।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विपिनकी आमा पद्माले आफू विपिनलाई लिन आएको बताउँदै सबैलाई सहयोगका लागि भावुक अपिल गरिन्। उनले आँसुको बीचमा भनिन्, “मेरो छोरालाई मुक्त गरेर घर पठाइदिनुस्, सबैमा विनम्र अनुरोध छ।”

विपिनकी बहिनी पुष्पाले पनि भावुक हुँदै भनिन्, “मेरो दाजु पढ्नका लागि आउनु भएको हो, हाम्रो कसैसँग दुश्मनी छैन। उहाँलाई विनासित्ती नराख्नुस्, हामी उहाँलाई लिन नेपालबाट आएका हौं।”

भीमदत्त नगरपालिका–३, भासी घर भएका विपिन कृषि विषयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। ७ अक्टोबर २०२३ मा हमासले इजरायलको किबुजमा आक्रमण गर्दा उनी सम्पर्कविहीन भएका थिए। उक्त घटनामा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जनालाई बन्धक बनाइएको थियो। युद्धविरामको क्रममा केहीलाई मुक्त गरिए पनि विपिन अझै बन्धक अवस्थामा छन्।

इजरायली विदेश मन्त्रालयका अनुसार, पद्मा र पुष्पालाई संयुक्त राष्ट्रसंघको कार्यालयमा उपस्थित गराई विपिनको रिहाइका लागि दबाब बढाउने योजना छ। त्यसअघि उनीहरूको भेट प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख र हमासविरुद्धको कारबाहीमा संलग्न कमान्डरहरूसँग गराइनेछ। साथै, विपिनलाई बन्धक बनाइएको दक्षिण इजरायलको किबुजमा लगेर घटनाबारे जानकारी दिने तयारी पनि गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार