गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–६ उर्लीखोलास्थित डहरे खोलामा मंगलबार बिहान अविरल वर्षासँगै आएको बाढीले कार बगाएको छ। शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार खोलाले बगाउँदै करिब ५० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
स्थानीय बासिन्दा र ट्र्याक्टरको सहयोगमा खोलाबाट कार निकालिएको भए पनि कारमा क्षति पुगेको छ। यद्यपि, घटनामा मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए।
यस क्षेत्रका नागरिक विगत लामो समयदेखि पक्की पुलको अभावमा सास्ती खेपिरहेका छन्। निरन्तर वर्षाले खोलामा पानीको बहाव बढ्दा डहरे खोला हुँदै बामिटक्सार तथा छिमेकी जिल्ला बाग्लुङबाट बुटवलतर्फ जाने सवारी साधनहरू बाढीको समयमा घण्टौँ बाटोमै रोकिएर बस्नुपर्ने बाध्यता छ।
रिडीदेखि वामिटक्सारसम्मको सडकखण्डमा चार स्थानमा पक्की पुल नहुँदा वर्षातको समयमा सवारी सञ्चालनमा ठूलो समस्या भइरहेको छ। सडक सुचारु भएको वर्षौं बितिसकेको भए पनि डहरे खोलामा अझै पुल नबन्दा बारम्बार सवारीसाधन खोलामा बग्ने घटना हुँदै आएको छ।
उक्त सडकखण्डमा यातायातको चाप धेरै भए पनि सडक तथा पुलको अवस्था निकै दयनीय छ। मुसिकोट नगरपालिका–४ भुवाचिदीका समाजसेवी ज्ञानहरी सापकोटाले डहरे खोलाबाट आवतजावत गर्न निकै जोखिम मोलेर यात्रा गर्नु परेको बताएका छन्।
हाल सडक डिभिजन कार्यालय पाल्पामार्फत सत्यवती गाउँपालिकाको नादेवा, डहरे, चन्द्रकोट गाउँपालिकाको भार्से खोलामा र मुसिकोट–चन्द्रकोटको गिद्दी खोलामा पुल निर्माणको काम भइरहेकाले केही राहत मिल्ने अपेक्षा गरिएको छ।
रिडी–रुद्रावेनी–वामिटक्सार सडकखण्ड हुँदै गुल्मी र बाग्लुङ जिल्लालाई जोड्ने यो सडक गुल्मीको पुरानो र महत्त्वपूर्ण सडक हो, तर आधारभूत पूर्वाधारको अभावले अझै सुरक्षित यात्रा सम्भव छैन।