ट्रेन्डिङ

Logout

"नैतिकता बिना राजनीति संकटमा पर्छ : डा. शेखर कोइराला"

4.2k Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा पूर्ण असफल भएको बताएका छन्। उनका अनुसार सहमतिपछि एक वर्ष बितिसक्दा समेत कुनै पनि बुँदा अघि नबढ्नु दुर्भाग्यपूर्ण हो। संविधान संशोधन र पुनरावलोकनको चर्चा हराउँदै गएको र त्यसका लागि कांग्रेस केन्द्रीय समितिले बनाउने भनेको कमिटीसमेत महिनौं बित्दा पनि नबनेको भन्दै उनले चिन्ता व्यक्त गरे।

लिची बगान घुसकाण्डमा एक मन्त्रीले राजीनामा दिनु परेकाले राजनीतिमा नैतिकता अनिवार्य रहेको कुरामा उनले जोड दिए। "यदि नैतिकता बिना राजनीति गरियो भने, राजनीति नै संकटमा पर्छ," कोइरालाको भनाइ थियो।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे टिप्पणी गर्दै उनले प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुखसहित ६ जना सदस्य रहेको परिषद्‌लाई अध्यादेशमार्फत २–३ जनाले मात्र निर्णय गर्न मिल्ने बनाइनु खतरनाक कदम भएको बताए। राष्ट्रपतिले विधेयक पुनरावलोकनका लागि फिर्ता पठाएको विषयमा पनि उनले गम्भीर चासो व्यक्त गरे।

पूर्वराष्ट्रपति विद्या भण्डारी, प्रचण्डलगायत नेताहरूसँग भएको भेटघाटबारे उनले त्यसलाई सामान्य राजनीतिक भेटघाट भन्दै कुनै नयाँ विषय नभएको स्पष्ट पारे। "हामी राजनीति गरिरहेका छौँ, भेटघाट हुनु स्वाभाविक हो," उनले भने।

उनले पार्टीको संसदीय दलको नेतृत्व फेर्न पर्याप्त संख्या नपुगेको बताउँदै अहिले हतार नगर्न सुझाव दिए। संसदीय व्यवस्थामा बहुमतको आवश्यकता हुने भएकाले संख्याको महत्वमा उनले बल दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार