नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र अझै केही नेताहरू सिँगौरी खेल्न चाहिरहेको टिप्पणी गरेका छन्। काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
हालै पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्व र आन्तरिक विधि प्रक्रियामाथि प्रश्न उठाइरहेकै बेला प्रचण्डले ती नेताहरूलाई लक्षित गर्दै आफूले सिँगौरी खेल्न छुट दिएको बताएका छन्।
उनले भने, “अहिले पनि केही साथीहरू ल त भनेर सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गरेका छन्। उहाँहरूलाई म प्रशस्त छुट दिएको छु – जति मन लाग्छ खेल्नुस् भनेको छु। डेढ महिना परामर्श भन्दै देशभर हिँड्न दिइयो, अब त्यो भन्दा बढी जनवाद के हो?”
प्रचण्डले आफ्नै कमजोरी भनेर फरक मत राख्नेहरू प्रति उदार हुनुलाई औंल्याए।
“कतिपय साथीहरूले भन्छन् म अलिकति बढी विचारमा असहिष्णु भए हुँदो हो – तर म त फरक मतमा नै बढी सहिष्णु भएको मान्छे हुँ,” उनले बताए।
त्यस्तै, उनले पार्टीभित्र हुने आलोचनालाई पनि स्वाभाविक माने।
“पार्टीभित्र मेरो बढी आलोचना हुन्छ। तर मैले कसैलाई कारबाही गरेको छैन – कमरेड किरण, बाबुराम, बादल, अरू थुप्रै साथीहरू गएका छन्, तर मैले निकालेर पठाएको होइन,” प्रचण्डले स्पष्ट पारे, “कतिपयलाई लाग्छ, ननिकाली बसेको ठाउँ नदिएपछि के अर्थ रहन्छ – तर त्यो पनि सत्य होइन।”
प्रचण्डको यो अभिव्यक्तिले माओवादी केन्द्रभित्रको आन्तरिक असहमति र नेताहरूबीचको सम्बन्धमा रहेको तनाव पुनः उजागर गरेको छ।