ट्रेन्डिङ

Logout

धरानमा जग्गा विवाद चर्कियो: मेयर हर्क साम्पाङको पत्राचारमा अमर्यादित भाषा, बीपी प्रतिष्ठानको कडा आपत्ति

4.9k Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले प्रयोग गर्दै आएको जग्गा फिर्ता माग गर्दै संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन्। उक्त पत्रमा प्रयोग गरिएको भाषा अमर्यादित भएको भन्दै तीव्र आलोचना हुँदै आएको छ।

मेयर साम्पाङले नगर अस्पताल निर्माणका लागि छाताचोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता माग गर्दै लेखेको पत्रमा लेखिएको छ, “कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ, थाहा भएन। यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला। धन्यवाद।”

धरानमा हालसम्म नगरको आफ्नै अस्पताल छैन, र स्वास्थ्य बीमा बोर्डले बीपी प्रतिष्ठानलाई रेफरल केन्द्र तोकेपछि स्थानीय अस्पताल निर्माणको माग तीव्र बनेको हो। तर साम्पाङले फिर्ता माग गरेको जग्गा भने ३४ वर्षदेखि बीपी प्रतिष्ठानको नाममा दर्ता छ, र त्यो जग्गा प्रतिष्ठान स्थापना भएताकै निर्णयअनुसार वैधानिक प्रक्रियामार्फत नामसारी गरिएको हो।

यसै सन्दर्भमा बीपी प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै मेयर साम्पाङको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “‘सुटुक्कै लगेको’, ‘हडपेको’ जस्ता शब्दावलीले आम नागरिकमा भ्रम फैलाउने काम भएको छ। प्रतिष्ठान कानूनी प्रक्रिया अनुसार सञ्चालनमा रहेको छ, र नगरको हितका लागि संवाद र सहकार्य गर्न सधैँ तयार छ।”

मेयर साम्पाङले मङ्गलबार सामाजिक सञ्जालमार्फत धरानबासीलाई प्रदर्शनमा उत्रन आह्वान समेत गरेका थिए। यता, प्रतिष्ठानले पुरानो अस्पताल क्षेत्र धरानबासीकै धरोहर भएको उल्लेख गर्दै त्यसको सदुपयोगका लागि सहमति र सहकार्यको बाटो रोज्न आग्रह गरेको छ।

यस विषयमा स्थानीय तह र प्रतिष्ठानबीच औपचारिक संवादको आवश्यकता देखिएको छ, ताकि जनताको स्वास्थ्य सेवा र स्थानीय हित दुवै सुनिश्चित गर्न सकियोस्।521915332_1286799489908445_8414852177111776435_n-1116x1536.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार