उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच अर्थ मन्त्रालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटमा नेपाल–चीनबीचको सम्बन्ध, विकास साझेदारी तथा चीनको सहयोगमा सञ्चालनमा रहेका र आगामी दिनमा सुरु हुने परियोजनाहरूको विषयमा गहन छलफल भएको हो।
भेटपछिको औपचारिक कार्यक्रममा चार वटा महत्वपूर्ण परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। तीमध्ये चितवनको बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टसन केन्द्र निर्माण र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनका तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरेका हुन्। प्रस्तावित बोनम्यारो केन्द्र १८३४ वर्गमिटर क्षेत्रमा फैलिनेछ र यसले क्यान्सर उपचारमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, मानव संसाधन विकासका लागि पनि नेपाल–चीनबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ, जसअनुसार एक हजार २७० जना नेपाली सरकारी कर्मचारीलाई चीनमा आयोजित विभिन्न सेमिनारमा सहभागी हुने अवसर प्राप्त हुनेछ। यसले कर्मचारीको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनेछ।
उक्त अवसरमा रसुवागढी–केरुङ सिमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा पनि हस्ताक्षर गरिएको छ, जसले द्विपक्षीय ऊर्जा व्यापारलाई नयाँ दिशातर्फ अग्रसर गराउने विश्वास लिइएको छ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक र दीर्घकालीन मित्रता ठहर गर्दै सिड्का अध्यक्षको भ्रमणले आपसी सम्बन्ध अझ मजबुत बनाउने धारणा राख्नुभयो। उहाँले चीनबाट पूर्वाधार विकास, स्वास्थ्य र मानवीय स्रोत विकासमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
यसैबीच, चीनले हालै बाढीले क्षति पुर्याएको रसुवाका भौतिक संरचनाको पुनर्निर्माणमा पनि सहयोग गर्ने जनाएको छ। सिड्का अध्यक्ष सियाओदोङ्गले भन्सार प्रक्रिया सरल बनाउन र पुनर्निर्माणमा आवश्यक सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले रसुवा नाकाको आयात–निर्यात र राजस्व सन्दर्भमा महत्त्वपूर्ण भूमिका भएकाले पुनर्निर्माण कार्य छिटो अघि बढाइने बताउनुभयो।