सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको अभियोगमा सर्वोच्च अदालतबाट ६ महिना कैद सजाय पाएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन्। फैसलापछि फरार रहेका तिम्सिनालाई आइतबार इलाका प्रहरी कार्यालय इटहरीले पचरुकी चोकमा पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार, इटहरी–५ पचरुकी चोकमा दुई महिलाबीच लेनदेन विवादको सूचनापछि प्रहरी घटनास्थल पुग्दा तिम्सिना पनि त्यहाँ भेटिएका थिए। उक्त विवादमा उनी जोडिएको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
“सुरुमा तिम्सिनाले आफ्नो वास्तविक नाम र ठेगाना लुकाएर इलाम घर र खड्का थर भएको बताएका थिए। परिचय पत्र मागेर सोधखोज गर्दा उनको वास्तविक परिचय खुल्यो,” डीएसपी भण्डारीले भने, “सर्वोच्च अदालतको फैसलाका कारण उनलाई नियन्त्रणमा राखिएको छ।”
सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गत असोज १४, २०८२ मा तिम्सिनालाई ‘डार्क फाइल’ नामक फेक अडियो बनाएको अभियोगमा ६ महिना कैद सजाय सुनाएको थियो। प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी गरिरहेको छ।
प्रहरीका अनुसार, तिम्सिना ललितपुरको गोदावरी–१० स्थायी ठेगाना भएका व्यक्ति हुन्। सर्वोच्चको फैसलापछि उनी पूर्वी क्षेत्रमा बस्दै आएका थिए। प्रहरीसँगको बयानमा उनले धनकुटामा बसेर काठको काम गर्दै आएको बताएका छन्।