भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा प्राप्त भएको छ। प्रधानमन्त्री ओलीले आगामी ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने र १ असोजमा नै फर्किने कार्यक्रम तय गरिएको स्रोतहरूले जनाएका छन्।
प्रधानमन्त्री ओलीको यसपटकको भ्रमण अहिलेसम्मकै छोटो भारत भ्रमण हुने बताइएको छ। यद्यपि यो भ्रमण महत्वपूर्ण कूटनीतिक संकेत बोकेको बताइएको छ। भ्रमणको क्रममा दुईपक्षीय सम्बन्ध थप प्रगाढ पार्ने, विगतका समझदारीहरूलाई निरन्तरता दिने, र नयाँ परियोजनाहरूको प्रारम्भ गर्ने विषयमा छलफल हुने जनाइएको छ।
यसअघि थाइल्यान्डको बैंककमा आयोजित बिमस्टेक शिखर सम्मेलनको सन्दर्भमा ओली र मोदीको भेटले अपेक्षित सौहार्द नबनाएको पृष्ठभूमिमा यो भ्रमणलाई समीक्षा र संवादको अवसरको रूपमा लिइएको छ।
नेपालले संविधान संशोधन गरेर लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा जारी गरेको विषयमा भारत असन्तुष्ट रहेको देखिएको छ। सो विषय भ्रमणको आरम्भमै प्राथमिकतामा पर्न सक्ने स्रोतले बताएको छ।
यसैबीच, दुईपक्षीय सीमा व्यवस्थापन समूह (BWG) को गृहसचिवस्तरीय बैठक दिल्लीमा आयोजना हुने भएको छ। आज आइतबार त्यसको तयारी बैठक नेपालमा बसेको छ।
साथै, भारतले प्रधानमन्त्री ओलीको निमन्त्रणा यसपटक स्वीकार गर्ने संकेत दिएको छ। स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री मोदी आगामी कात्तिक पहिलो हप्ता (नोभेम्बर तेस्रो साता) नेपाल भ्रमणमा आउने संभावना बलियो देखिएको छ।
मोदीको सम्भावित भ्रमण काठमाडौंमा नभई कुनै धार्मिक वा पर्यटकीय क्षेत्रमा केन्द्रित हुन सक्ने, र प्रधानमन्त्री ओलीले त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ।
यसरी, ओलीको आसन्न भारत भ्रमण र त्यसपछिको मोदीको सम्भावित नेपाल यात्रा नेपाल–भारत सम्बन्धमा नयाँ गति थप्ने अवसरका रूपमा हेरिएको छ।