बैङ्क तथा वित्तीय संस्थाहरूमा बारम्बार ग्राहक पहिचान (केवाइसी) विवरण भर्नुपर्ने झन्झटबाट अब सेवाग्राही मुक्त हुने भएका छन्। नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत राष्ट्रिय परिचयपत्रबाट केवाइसी विवरण प्राप्त गर्ने व्यवस्था सहजीकरण गर्ने भएको छ।
यसअघि प्रत्येक बैङ्कमा खाता खोल्दा छुट्टाछुट्टै केवाइसी भर्नुपर्ने प्रावधानले सेवाग्राही हैरान थिए। सर्वत्र गुनासो बढेपछि राष्ट्र बैङ्कले यो सुधारको पहल गरेको हो। मौद्रिक नीतिमा उल्लेख भएअनुसार, ग्राहकले कुनै एक बैङ्कमा विवरण अद्यावधिक गरेपछि आवश्यक निकायले विद्युतीय माध्यमबाट सो विवरण प्राप्त गर्न सक्ने पूर्वाधार विकास गरिनेछ।
नयाँ व्यवस्थाअनुसार, केवाइसी विवरण उपलब्ध गराएका ग्राहकले पहिचान नम्बर प्राप्त गर्नेछन्। बैङ्क तथा वित्तीय संस्थाले आवश्यक परेमा सोही पहिचान नम्बर प्रयोग गरेर केवाइसी प्रणालीबाट ग्राहकको व्यक्तिगत विवरण सहजै प्राप्त गर्न सक्नेछन्।
मौद्रिक नीतिमा भनिएको छ, “बैङ्क तथा वित्तीय संस्था र अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान (केवाइसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ। ग्राहकले एकपटक विवरण अद्यावधिक गरेपछि आवश्यक निकायले विद्युतीय माध्यमबाट सो विवरण प्राप्त गर्न सक्ने पूर्वाधारको विकास गरिनेछ।”