पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भ्रष्टाचार मुद्दामा अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
मधेश प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएका सबै आरोपहरू निराधार भएको दाबी गरे। उनले भने, “सबै गलत आरोपका विरुद्ध दृढतापूर्वक उभिन्छु। मलाई विश्वास छ, न्यायपालिका impartial छ र अन्ततः न्यायको जीत हुनेछ, अन्याय पराजित हुनेछ।”
पतञ्जलि समूहसँग सम्बन्धित जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यसबारे प्रतिक्रिया दिँदै उनले अहिलेसम्म आफूले कुनैपनि अनियमित लाभ नलिएको र कुनै स्वार्थवश निर्णय नगरेको बताए।
“मैले जीवनभर एक पैसा घुस लिएको छैन, एक इन्च जग्गा आफ्नो नाममा नपारेको छु। डराउनु पर्ने कुनै कारण छैन,” उनले प्रष्ट पारे, “चुनौती आइपरेको छ, त्यसको डटेर सामना गर्छौं, भाग्ने होइन।”
नेपालले सबै कामहरू राष्ट्रहित र असल मनसायका साथ गरिएको उल्लेख गर्दै निजी लाभका लागि कुनै निर्णय नगरेको दाबी गरे।