ट्रेन्डिङ

Logout

किसानको पक्षमा कठोर निर्णय: उपाध्यक्ष नितु चौधरीद्वारा व्यापारीमाथि कारबाही, समाजसेवाको अर्को उदाहरण

10.6k Shares

स्थानीय सरकारको नेतृत्व गर्ने महिलाहरूले जब समाजप्रति उत्तरदायी भई कार्य गर्छन्, त्यसले न केवल जनविश्वास बढाउँछ, तर परिवर्तनको स्पष्ट सङ्केत पनि दिन्छ। बर्जु गाउँपालिकाकी उपाध्यक्ष नितु चौधरी यही परिवर्तनको प्रतीक बनेकी छन्। हालैको एक घटनामा उनले किसानलाई ठग्ने व्यापारीहरूलाई कारबाही गर्दै आफ्नो कार्यक्षमता, प्रतिबद्धता र साहसको परिचय दिएकी छन्।

मंगलवार बर्जु गाउँपालिकाको बजार अनुगमनको क्रममा मकै खरिद गर्दा एक बोरा मकैमा १२०० ग्रामभन्दा बढी अनियमितता भएको पुष्टि भएपछि चार व्यापारीको तराजु तत्काल जफत गरिनुका साथै कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

उक्त अनुगमनमा गाउँपालिका, गुणस्तरीय तथा नापतौल कार्यालय विराटनगर, इलाका प्रशासन कार्यालय, शस्त्र प्रहरी बल अमडुवा, इलाका प्रहरी कार्यालय चिमडीलगायत निकायहरूको संयुक्त टोलीको सहभागिता थियो।IMG20250603170512.jpg

“हामी किसानको रगतपसिनाको मूल्य अन्यायपूर्ण रूपमा हरण गर्न दिने छैनौँ,” उपाध्यक्ष चौधरीले अनुगमनपछि भनिन्। उनका अनुसार अबदेखि बजार अनुगमनलाई नियमित बनाइनेछ, र व्यापारीहरूलाई चेतावनी दिइएको छ“नियम पालना नगरे कारबाही अनिवार्य हुनेछ।”

बजारमा क्रियाशील धेरै व्यापारीहरूले विगतमा पनि नापतौलमा बेइमानी गर्ने, जबर्जस्ती दर तोक्ने, र किसानलाई कमजोर पक्ष बनाउने कार्य गर्दै आएका थिए। तर यसपटक उपाध्यक्ष चौधरी स्वयं मैदानमा उत्रिएपछि किसानहरूले आफूहरू सुनेको महसुस गरेका छन्।IMG20250603164629.jpg

स्थानीय किसान रामचरण यादव भन्छन्, “उपाध्यक्षज्यूको सक्रियताले हाम्रो पक्षमा न्याय भएको छ। अब फेरि ठगिने डर छैन।”

नितु चौधरी बर्जु गाउँपालिकाको उपाध्यक्ष मात्र होइनन्, उनी समाज परिवर्तनकी अगुवा पनि हुन्। मधेसी, दलित, र साना कृषक समुदायको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएकी चौधरीले महिला सशक्तिकरण, शिक्षा प्रवर्द्धन, र स्वच्छ शासन व्यवस्थापनमा समेत सशक्त पहल गरेकी छन्।IMG20250603170320.jpg

नितु चौधरीले देखाएको साहस, जनताको पक्षमा आवाज उठाउने शैली, र निर्णायक क्षमताले स्थानीय तहका जनप्रतिनिधि कस्ता हुनुपर्छ भन्ने सन्देश दिएको छ। किसानले उनका कार्यको स्वागत गरेका छन्, र यो घटनाले अन्य पालिकाका जनप्रतिनिधिलाई पनि प्रेरणा दिन सक्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार