गणतन्त्र दिवस २०८२ को अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना सन्देश दिँदै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले मुलुकमा आमूल परिवर्तन सम्भव भएको र यो व्यवस्थाको कुनै विकल्प नभएको बताउनुभयो।
मन्त्री गुरुङले नेपाल दक्षिण एसियामै अभिव्यक्ति स्वतन्त्रतामा अग्रस्थानमा रहेको र सूचना तथा सञ्चार क्षेत्रमा ठूलो सफलता हासिल गरेको बताउनुभयो। उहाँले पर्यटन, शिक्षा, स्वास्थ्य र नागरिक उड्डयन क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै यी सबै उपलब्धि गणतान्त्रिक शासन व्यवस्थाकै कारण सम्भव भएको प्रष्ट पार्नुभयो।
राजतन्त्रकालमा सबै स्रोतसाधन एउटै व्यक्तिमा केन्द्रित रहेको र २५० वर्षसम्म जनताको अधिकार खोसिएको उल्लेख गर्दै उहाँले राजतन्त्र अब कल्पनायोग्य नभएको बताउनुभयो। नयाँ पुस्ताले राजतन्त्रको दमन, शोषण र उत्पीडनबारे अध्ययन गर्नुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले राजतन्त्रको २५० वर्षको तुलनामा लोकतन्त्रपछि मुलुकले आर्थिक र शैक्षिक क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो।
लोकतन्त्रमा समृद्धिको सम्भावना सधैं रहने तर राजतन्त्रमा त्यो सम्भव नहुने उहाँको भनाइ छ। गणतान्त्रिक कालमा राजनीतिक अस्थिरता देखिए पनि जनताले कुनै एक दललाई बलियो बनाएर कम्तिमा पाँच वर्ष शासन गर्ने अवसर दिएमा समृद्धि छिटो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।
मन्त्री गुरुङले भन्नुभयो, “गणतन्त्रबारे गलत भाष्य बनाउने प्रयास भएको छ, तर यो व्यवस्था आएपछि आर्थिक, राजनीतिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको छ। यो कुरा युवाले बुझ्नुपर्छ।” उहाँले गरिबी ६२ प्रतिशतबाट २० प्रतिशतमा झरेको र कोभिड नभएको भए १० प्रतिशतमा झरिसक्ने बताउनुभयो।
हजारौं किलोमिटर सडक कालोपत्रे भएको, साक्षरता दर ४२ प्रतिशतबाट ७५ प्रतिशत पुगेको, नेपालीको औसत आयु ७२ वर्ष पुगेको, क्यान्सर र किडनी प्रत्यारोपण नेपालमै सम्भव भएको र गाउँगाउँमा बाटो पुगेको उहाँले उल्लेख गर्नुभयो। यी सबै गणतन्त्रकै कारण सम्भव भएको उहाँको भनाइ छ।
सिँचाइ क्षेत्रमा राम्रो प्रगति भएको र ठूला परियोजना सम्पन्न भएमा तराईमा हरित क्रान्ति आउने तथा खाद्यान्न निर्यात गर्ने मुलुक बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। हाल ३४०० मेगावाट बिजुली उत्पादन भएको र यो बहुदलअघिको अवस्थामा नभएको उहाँले प्रष्ट पार्नुभयो।
लोकतान्त्रिक गणतन्त्रले युवालाई प्रशस्त अधिकार दिएको तर युवाको ध्यान अमेरिका, अष्ट्रेलिया, जापानतिर रहेको भन्दै उहाँले युवालाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो। “लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, समाजवादको विकल्प सामन्तवाद हुन सक्दैन,” उहाँले भन्नुभयो। गणतान्त्रिक कालमा केही काम नभएको भन्ने भाष्यलाई चिर्नुपर्ने उहाँको जोड छ।
गणतन्त्र दिवस २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सबै नेपालीलाई उहाँले शुभकामना व्यक्त गर्नुभयो।