नेपालको गणतन्त्र स्थापनाको १७ औँ वर्षगाँठको अवसरमा युवा कम्युनिस्ट लिग (वाईसीएल) नेपालले विशेष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। वाईसीएल नेपालले जेठ १५ गते, बिहान ८:०० बजे काठमाडौँको पेरिसडाँडास्थित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्ने जनाएको छ।
गणतन्त्र दिवसको सन्दर्भमा देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको बलिदानको स्मरण र मूल्याङ्कन गर्न कार्यक्रम आयोजना गरिएको वाईसीएल नेपालका केन्द्रीय कार्यालयले जानकारी दिएको छ। कार्यक्रममा पार्टीका नेताहरु,पत्रकार, युवा तथा शुभेच्छुकहरुको उपस्थित रहनेछ।
वाईसीएल नेपालले गणतन्त्रलाई सुदृढ गर्न युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको जनाउँदै, समावेशी, समानतामूलक र आत्मनिर्भर समाज निर्माणमा सबैलाई सहकार्य र एकतामा जोड दिन आग्रह गरेको छ।
वाईसीएल नेपालले गणतन्त्र दिवसलाई राष्ट्रिय गौरवको दिनको रूपमा मनाउन सबै युवाहरुलाई लोकतान्त्रिक मूल्य र संविधानको रक्षार्थ अग्रसर हुन आह्वान गरेको छ।