प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्याको तत्काल समाधान गरी नियमित आपूर्तिको माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भने, “घरघरमा अँध्यारो छ, बत्ती बारम्बार झ्यापझ्याप गइरहेको छ। यसको कारणबारे जानकारी दिई तुरुन्त समस्या समाधान गर्न अनुरोध गर्छु।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत् प्राधिकरणको लापरवाहीले विद्युत् क्षेत्रमा कार्यरत कामदारहरूको ज्यान गइरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए। “पहिले लोडसेडिङ अन्त्य भएको थियो, तर अहिले फेरि झ्यापझ्याप बत्ती जान्छ। के नेपाली जनता अब अँध्यारोमा बस्नुपर्ने हो?” उनले प्रश्न गरे। उनले ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई नियमित आपूर्तिको लागि कदम चाल्न आग्रह गरे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सराज अहमद फारुकीले सडक दुर्घटना बढ्दै गएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले काभ्रेपलाञ्चोकमा विद्युत् जडानका क्रममा उमेश परियारको करेन्ट लागेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए।
जनमत पार्टीका सांसद अब्दुल खाँनले सर्लाहीको पर्सा–५ मा तसलिम अन्सारीलाई कुटपिट गरी बङ्गुरको खोरमा थुनेको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे। उनले मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक र पहिचान संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराए।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले केही दिनअघि विद्युत् मर्मतका क्रममा करेन्ट लागेर मृत्यु भएका २८ वर्षीय उमेश परियारको परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारसँग आग्रह गरे।