काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको पक्राउलाई सामान्य त्रुटि नभई पार्टी एकीकरण बिथोल्ने सुनियोजित षड्यन्त्र भएको आरोप लगाएका छन्। रिहाइपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउतले यो घटनालाई गम्भीर षड्यन्त्रको रूपमा लिएको बताए।
“पार्टी एकीकरणको दिन रेशम चौधरीलाई पक्राउ गर्नु ठूलो षड्यन्त्र हो। यो हाम्रो एकता भाँड्ने प्रयास पनि हो,” उनले भने। राउतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई यो योजनामा मोहराको रूपमा प्रयोग गरिएको दाबी गरे। “यो ठूलो षड्यन्त्र हो। कर्मचारीलाई त केवल मोहोरा बनाइएको छ,” उनले थपे।
राउतले पार्टी एकीकरण कुनै पनि हालतमा हुने र यसका लागि आवश्यक छलफल अघि बढ्ने बताए। “रेशमजी रिहा भइसक्नुभएको छ। हामी यो घटनाको समीक्षा गर्छौं, तर एकीकरण भएरै छाड्छ,” उनले भने।
यसैबीच, रेशम चौधरीका बुबा लालवीर चौधरीले भोलि नै पार्टी एकीकरण हुने दाबी गरे। “भोलि नै हामी एकता गर्छौं। हामी झन् बलियो भएर आउँछौं,” उनले भने।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा हुने कार्यक्रम थियो। सोही क्रममा सादा पोशाकका प्रहरीले महिमानसिंह विष्टले जारी गरेको पत्रका आधारमा चौधरीलाई पक्राउ गरेका थिए। तर, उक्त पत्र शङ्कास्पद देखिएपछि सर्वोच्च अदालतले नयाँ पत्र जारी गर्दै चौधरीलाई तत्काल थुनामुक्त गर्न निर्देशन दिएको थियो। नक्कली पत्र जारी गर्ने शाखा अधिकृत विष्टलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए।