विराटनगर: सांसद डा. सुनिल शर्माको स्वामित्वमा रहेको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा चिकित्सकीय लापरवाहीका कारण एक महिलाको मृत्यु भएको छ। यो घटनाले स्वास्थ्य सेवामा राजनीतिक प्रभावका कारण न्याय पाउन कठिन हुने स्थिति सिर्जना गरेको छ।
सुनसरी इनरुवाकी ५६ वर्षीया बिमला थापा पोखरेलको माघ २१ गते नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो। श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि माघ १० गते अस्पताल भर्ना भएकी पोखरेलको अवस्था एक हप्ताको उपचारपछि सुधारिएको र डिस्चार्ज हुने तयारीमा रहेको अवस्थामा फोक्सो तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. रामहरि घिमिरेले उनको ढाडको पुरानो दुखाइका लागि 'मोर्फिन' औषधि सिफारिस गरेका थिए।
श्वासप्रश्वासका बिरामीलाई प्रयोग गर्न नहुने यो औषधिको अस्वाभाविक उच्च मात्रा (५० एमजी) तीन पटक गरी १५० एमजी दिइएको र चिकित्सकीय निगरानी बिना प्रयोग गरिएको कारण पोखरेलको मृत्यु भएको परिवारको दाबी छ।
मृतक बिमलाका छोरा सुशान्तरमण पोखरेलले औषधिको विषयमा चिकित्सकसँग प्रश्न गर्दा "चलाउनै नमिल्ने भए कम्पनीले त्यो औषधी किन बनाउथ्यो? हाम्रो अस्पताल सेवा गर्न नभएर व्यापार गर्ने हो" भन्ने दम्भपूर्ण जवाफ पाएको आरोप लगाएका छन्।
"पुरानो ढाडको दुखाइको उपचार गर्न फोक्सो विशेषज्ञले नार्कोटिक समूहको औषधि सिफारिस गरेको घटना चिकित्सकीय सीमाको स्पष्ट उल्लंघन हो," अस्पताल व्यवस्थापन क्षेत्रका एक विज्ञले नाम नछाप्ने शर्तमा बताए।
नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका मालिक डा. सुनिल शर्मा नेपालको प्रतिनिधि सभा सदस्य रहेका छन्। स्वास्थ्य क्षेत्रमा विशेष प्रभाव राख्ने डा. शर्माको स्वामित्वमा रहेको अस्पतालविरुद्ध न्याय पाउन कठिन हुने र मुद्दालाई दबाउने प्रयास हुनसक्ने आशंका पीडित परिवारले व्यक्त गरेको छ।
"हामीलाई पहिले नै मुद्दा दर्ता गर्न धेरै संघर्ष गर्नुपर्यो। शक्तिशाली व्यक्तिको अस्पताल विरुद्ध न्याय खोज्न चुनौतीपूर्ण छ, तर हाम्रो आमाको अकाल मृत्युको सत्य उजागर गर्नैपर्छ," सुशान्तरमणले पत्रकार सम्मेलनमा बताए।
उल्लेखनीय कुरा, बिरामीलाई डिस्चार्ज गर्न सल्लाह दिइएकै दिन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको भ्रमणका कारण विमलाको डिस्चार्ज प्रक्रिया रोकिएको थियो। डिस्चार्ज रोकिएको भोलिपल्ट उनले गुनासो गरेपछि मात्रै ढाडको दुखाइका लागि विवादास्पद औषधि दिइएको थियो।
"डिस्चार्ज हुन पाएको भए मेरी आमा आज जीवित हुनुहुन्थ्यो। स्वास्थ्यमन्त्रीको भ्रमणका कारण अस्पतालका कर्मचारीहरू व्यस्त भएको र यसैबीच लापरवाही भएको हुनसक्छ," सुशान्तरमणले थपे।
नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राईले घटनाको अध्ययन गरिरहेको जानकारी दिए। "परिवारका सदस्यहरूले सहजरूपमै अस्पतालबाट शव बुझेर लैजानुभएको देखिन्छ, त्यस्तो कुनै उजुरी पनि अस्पतालमा आएको थिएन," उनले भने। तर पछि थपे, "पछिल्लो खबरले हामी पनि गम्भीर भएका छौं र अध्ययन गरेर यस विषयमा धारणा सार्वजनिक गर्छौं।"
नेपालको चिकित्सा क्षेत्रमा व्याप्त भ्रष्टाचार र लापरवाहीविरुद्ध यो मुद्दा एक महत्त्वपूर्ण संघर्षको रूपमा हेरिएको छ। विशेषज्ञहरूका अनुसार राजनीतिक पहुँच भएका स्वास्थ्य व्यवसायीहरूविरुद्ध न्याय पाउन कठिन हुने गरेको छ।
"सांसद वा राजनीतिक नेतृत्वको स्वामित्वमा रहेका अस्पतालहरूमा चिकित्सकीय लापरवाहीका मुद्दा दबाउने प्रवृत्ति छ। यो मुद्दाले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको देखाउँछ," स्वास्थ्य अधिकारकर्मीहरु बताउँछन ।
बिमला थापा पोखरेलको मृत्युको घटनाले नेपालका मेडिकल कलेजहरूमा हुने चिकित्सकीय लापरवाहीलाई फेरि एकपटक उजागर गरेको छ। विशेषगरी विशेषज्ञताभन्दा बाहिर गई उपचार गर्ने प्रवृत्ति र राजनीतिक प्रभावका कारण हुने अनियमितताले गर्दा बिरामीको जीवन जोखिममा पर्ने गरेको छ।
पाँच करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित दायर गरिएको यो मुद्दाले आगामी दिनमा चिकित्सकीय उपचारमा थप सावधानी अपनाउनुपर्ने सन्देश दिएको छ। मोरङ जिल्ला अदालतमा यस प्रकृतिको पहिलो मुद्दा दर्ता भएकाले यसको परिणामले भविष्यमा यस्ता मुद्दाहरूको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।