नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेन्डा आफूले नछाडेको स्पष्ट पारेका छन्।
आइतबार काठमाडौँमा आयोजित नेवाः राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानसभामा १४ प्रदेशको अवधारणा प्रस्तुत गरेको र त्यसलाई 'नोट अफ डिसेन्ट'को रूपमा दर्ता गराएको स्मरण गराए।
उनले भने, "प्रतिक्रियावादीको ट्रयापमा परेको हो। हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं। भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ।"
साथै प्रचण्डले वैशाख ६ गते काठमाडौँमा हुने नेवाः मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने बताए। उनले प्रतिगामी शक्तिलाई परास्त गर्न काठमाडौंका नेवार समुदायलाई जागृत हुन आह्वान गरे।
"प्रतिगामीले फेरि टाउको उठाउन सम्भव छैन। त्यसका लागि काठमाडौंका नेवारहरू जुरुक्क उठ्नुपर्यो। यथास्थिति र प्रतिगामी षडयन्त्रका विरुद्ध आन्दोलन गर्न जरुरी भयो," अध्यक्ष प्रचण्डले बैठकमा भने।