काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा आज बिहान ओमानतर्फ प्रस्थान गरेकी छन्। एक साताको भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले मस्कटमा आयोजना हुने ‘आठौँ हिन्द महासागर सम्मेलन’ मा भाग लिनेछिन्।
‘समुद्री साझेदारीको नयाँ क्षितिजतर्फको यात्रा’ भन्ने नाराका साथ आयोजना हुने उक्त सम्मेलनमा मन्त्री राणाले ‘विश्वको दक्षिणी भेगको आवाजलाई बुलन्द पार्ने’ विषयमा पूर्ण सत्रलाई सम्बोधन गर्नेछिन्। भ्रमणका क्रममा उनले ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिजमन्त्री लगायतका अन्य उच्च पदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने र आपसी सहयोग विस्तारका लागि केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताइएको छ।
यद्यपि, यो भ्रमणले नेपाली श्रमिकको हकहितका सवालमा ठोस उपलब्धि हासिल गर्न सक्ने हो या कूटनीतिक औपचारिकतामा मात्र सीमित रहने हो भन्ने विषयमा चासो बढेको छ। ओमानमा कार्यरत ठूलो नेपाली श्रमिक वर्गको हकहित, श्रम सम्झौतामा सुधार, र रोजगार अवसर विस्तारका ठोस एजेन्डाको अभावमा यो भ्रमण औपचारिकतामा सीमित हुन सक्ने आशंका गरिएको छ।
मन्त्री राणाले खाडी सहयोग परिषद् (जीसीसी) राष्ट्रहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने र मस्कटमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर, श्रमिकहरूको समस्याका व्यावहारिक समाधानबारे कुनै स्पष्ट कार्ययोजना सार्वजनिक गरिएको छैन।
डा. राणाको यो भ्रमण कूटनीतिक सम्बन्ध बलियो बनाउन केन्द्रित देखिए पनि, यो भ्रमण नेपाली श्रमिकको पक्षमा ठोस नतिजा ल्याउन सफल हुन्छ कि हुँदैन भन्ने विषयमा व्यापक चासो बढेको छ।